काठमाडौै । स्पेनले यूईएफए महिला युरो फुटबलको फाइनलमा स्थान बनाएको छ। ऐताना बोनमाटीले अतिरिक्त समयमा गरेको निर्णायक गोलले जर्मनीलाई १–० ले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। १ सय १३औं मिनेटमा बोनमाटीले जर्मनीकी गोलकिपर एन–क्याट्रिन बर्गरलाई छक्याउँदै निर्णायक गोल गरिन्।
खेलको शुरुवाती चरणमा दुवै टोलीले केहि राम्रो अवसर गुमाए। जर्मनीले पहिलो हाफमा क्लारा बुल र जियोभाना हफ्मानले गोल गर्ने मौका पाएको थियो भने स्पेनले गोलपोस्ट र बर्गरको उत्कृष्ट बचाउका कारण गोल गर्न सकेन। दोस्रो हाफमा स्पेनले बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।
फ्रान्सविरुद्ध क्वार्टरफाइनलमा १० खेलाडीमा सीमित भइ १०० मिनेटभन्दा बढी समय खेलेको जर्मनी यसपटक पनि मजबुत रह्यो र निर्णायक गोलको नजिक पुगे पनि सफल भने हुन सकेन।
अब स्पेनले उपाधिका लागि इंग्ल्यान्डसँग फाइनल भिडन्त गर्नेछ । यसअघि २०२३ को विश्व कपको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए, जहाँ स्पेनले १–० को जित निकालेको थियो।


