काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा (एमाले) केपी शर्मा ओलीले आगामी ११औं महाधिवेशनमा पनि अध्यक्ष पद नछोड्ने संकेत दिएका छन् ।
पोलिटब्युरो बैठकमा उनले ७० वर्षे उमेरहद र कार्यकालको सीमाबारे विधानमा प्रावधान नराख्ने तर्क गर्दै आफूमा अझै एक कार्यकाल नेतृत्व गर्न सक्ने ऊर्जा, सामथ्र्य र प्रतिबद्धता रहेको दाबी गरे ।
अध्यक्ष ओलीले विगतमा पार्टी संकटको बेलामा समेत पद नलिएको उदाहरण दिँदै आफू पदलोलुप नभएको बताए ।
मदन भण्डारीको निधनपछि आफैंलाई महासचिव बन्न प्रस्ताव आए पनि माधव नेपाललाई अगाडि सारेको स्मरण गराए । यद्यपि अहिले उनीहरूबीच दुस्मनी बढेको छ ।
उनले २०५२ देखि २०५४ सालसम्मको अन्तर्कलह र विभाजनका घटनासमेत उठाउँदै आफूले सधैं पार्टीलाई प्राथमिकता दिएको दाबी गरे ।
बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित पुनरागमनबारे असहमति जनाउँदै गणतान्त्रिक पद सम्हालेका व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्किनु लोकतान्त्रिक मूल्य र पार्टी दुवैका लागि अनुपयुक्त हुने धारणा राखे ।
उनले पार्टीमा आफ्नो नेतृत्व अझै अपरिहार्य रहेको बताउँदै उमेरहद र कार्यकालसम्बन्धी प्रावधान अहिले असान्दर्भिक भइसकेको तर्क प्रस्तुत गरे ।
आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकले ओलीको भावी रणनीति र भण्डारीको भूमिकाबारे स्पष्ट सन्देश दिने अनुमान गरिएको छ ।


