युकेमा ब्रिज डिकेड कप २०२५ हुँदै

काठमाडौं । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव विशेष रुपमा मनाउने घोषणा गर्दै ब्रिज डिकेड कप २०२५ को आयोजना गर्ने भएको छ।

सन्दीप लामिछानेको नेतृत्वमा युकेमा हुने यस मैत्रीपूर्ण क्रिकेट खेलबाट उठ्ने रकम नेपालका अनाथ बालबालिकाका लागि खर्च हुने बताइएको छ ।

आगामी २२ जुनमा युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज ११ र डेभिजेस क्रिकेट क्लबका बीचमा हुने यस खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वयंले ब्रिज ११ टोलीको नेतृत्व गर्नेछन्।

सन्दीप ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डर पनि हुन् ।

ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले यस खेल कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम पनि भएको बताए ।

‘१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवा एकैसाथ ल्याउने प्रयासमा छौं। खेलमार्फत सन्देश दिँदै, संकलन हुने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा प्रयोग हुनेछ’ गिरीले बताए।

कार्यक्रमको संयोजक विज्ञान कार्कीका अनुसार, यो प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमीहरू र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगिताको प्राविधिक पक्षमा म्याक्स क्रिकेट क्लबले सहकार्य गर्दैछ। क्लबका कप्तान म्यानी गुरुङले यस खेललाई एक प्रेरणादायी आयोजनाका रूपमा लिएका छन्।

कार्यक्रमका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो सेवाको यात्रालाई समाज प्रतिको जिम्मेवारीमा परिणत गर्ने यो प्रयास ब्रिज इन्टरनेशनलको मूल्यमा आधारित भएको बताए।

खेलबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमासहयोग स्वरूप हस्तान्तरण गरिनेछ। सहयोगको कार्यमा सन्दीप लामिछाने स्वयं पनि संलग्न हुनेछन्।

ब्रिज इन्टरनेशनलले नेपाली समुदायमा खेलकुद, सद्भाव र सामाजिक सेवाको संयोजन प्रस्तुत गर्दै दशक लामो यात्रालाई ऐतिहासिक बनाउने तयारी गरिरहेको छ।

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस