सदनको गतिरोध खुलाउन प्रचण्ड र नेपालबीच छलफल, दुई बुँदे ड्राफ्टमा सहमति

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थीत माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोधका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए। उनले विपक्षी लगायत अन्य दलहरूसँग छलफल गरेर आवश्यक निर्णय हुने बताए।

सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ। भेटवार्तामा माओवादी उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू समेत सहभागी थिए।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस