विजौरी । तुलसीपुरकै एक जना स्वास्थ्य अभियन्ता तथा वालरोग विशेषज्ञ डा किशोर खत्रीले गएको शनिवार तुलसीपुर उद्योग वाणिज्य संघमा बोलेको एयरपोर्ट अभिव्यक्ति भाइरल भएको छ । साधारणसभाको शुभकामना दिदै उनले भनेका थिए, यो एयरपोर्ट पनि बन्दैन, घोराही–तुलसीपुर चारलेन पनि बन्दै बन्दैन ।
यहि भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । धेरैले यसलाइ ग्रहण गरेका छन् । कसैले डा किशोरलाई विकाश विरोधी अभिव्यक्तिका नायक पनि भने, कसैले हो त सांच्चै हो, बन्ने भए त बनिहाल्थ्यो नी एयरपोर्ट । वरु हरेक बर्ष विग्रंदै गएको छ । सायद पछिल्लो दशक यता तुलसीपुरको टरीगाँउ विमानस्थलमा सवै भन्दा कम उडान भएको यहि बर्ष हो । चालु आर्थिक बर्षको दश महिनामा बढिमा पचास उडान पनि भएका छैनन्, आधिकारीक उडानको तथ्यांक त नागरीक उड्ययन प्राधिकरणसंग होला । ‘सातामा सातै दिन उडान भर्ने भनेर केहि महिना अघि प्लेन आएको थियो, त्यसपछि त प्लेनको चर्चानै हुन छाड्यो’, तुलसीपुर उपमहानगरपालिका–१७ निवासी शिक्षक गिरीराज पाण्डेले स्मरण गरे । उनी त्यो बीचमा तीन पटक काठमाण्डौ गए, तर नेपालगन्जको हवाइ मार्ग हुंदै । अहिले पनि जहाजको अवतरणको कुनै पनि निश्चित स्याडुल दिएको छैन, नागरीक उड्ययन प्राधिकरणले ।
डा किशोरले एयरपोर्ट अभिव्यक्तिमा पुर्व राष्ट्रियसभा सदस्य कोमल वलीलाइ चित्त बुझेनछ । किनकि उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीलाइ अघिल्लो महिना एयरपोर्टमै स्वागत गरेकि थिइन् । हवाइ जहाजमा होइन, हेलीकोप्टरमा । एमालेको कार्यक्रममा हेलिकोप्टरबाट देउखुरी हुदै घोराही आइपुगेका प्रधानमन्त्री फर्कने वेला तुलसीपुरको एयरपोर्ट पनि हेरी हालौं न त भनेर त्यहां पुगेको बताइन्छ । तर खासमा हेलिकोप्टर प्रधानमन्त्रीलाई एयरपोर्ट देखाउन नभएर इन्धन भर्न टरीगाउ एयरपोर्ट गएको थियो । त्यहि वेला कोमल रिसोर्टमा पनि पस्न भ्याएको समाचार श्रोतले बतायो ।
डा खत्री त्यसै हुक्किएका होइनन्, उनले यो विषयमा तीन तीन जना पुर्व प्रधानमन्त्रीलाई भेटेरै जानकारी गराए । तर एयरपोर्टको स्तरोन्नतीलाइ तीनै जना पुर्व प्रधानमन्त्रीहरुले गाम्भिर्यता देखाएनन् । औपचारीकतामै भनिदिए, श्रोतले भ्याएसम्म गरौंला न त । प्रधानमन्त्री ओलीले त सार्वजनिक कार्यक्रममै भनेका थिए, यो बर्ष चारलेन अर्को बर्ष एयरपोर्ट । तर आगामि बर्षकालागी पनि टरीगाउ एयरपोर्ट प्रार्थमिकताको सुचिमा पर्ने अवस्था देखिंदैन ।
संघिय सरकारले आगामि आर्थिक बर्षकालागी निति तथा कार्यक्रम सार्वजनिक गरीसकेको छ । तर हवाइ सेवा थप विस्तारकालागी प्राथमिकताको सुचिमा तुलसीपुर एयरपोर्ट स्तरोन्नतीलाइ सम्वोधन गरेको देखिंदैन । सायद निति तथा कार्यक्रमकै आधारमा बजेट निर्माण हुने छ । जेठ दश गते भित्र आउने बजेटमा टरीगाउ विमानस्थललाइ सम्वोधन गराउन यो बर्ष जनप्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको पनि दौडधुप देखिएको छैन । सायद धाउदा धाउदा जनप्रतिनिधिहरु थाकि सकेका होलान ।
व्यवसायीहरु थाकिसकेका होलान । किनकि यस अघि पनि सरकारले उनीहरुलाइ झुठा आश्वासन मात्रै थोपरीदियो । पक्का हुन्छ भनेर हौस्यायो, तर रातो कितावमा यो विमानस्थलको स्तरोन्नतीकालागी अंकमा उल्लेखित बजेट भने आएन । ‘हामीले त हाम्रो पालामा आशा मारीसकेका छौं, किनकि पछिल्लो समयमा समानुपातिक विकाशको अवधारणालाइ कुल्चिइएको छ । समावेशी विकाशको अवधारणा कार्यान्वयनमा आउन सकेको छैन’, तुलसीपुरका पुराना नेता तथा समाजसेवी गोपीनाथ योगी भन्छन्, आवस्यकताका आधारमा होइन, पहुचका आधारमा विकाश बाडिदै छ ।
विसं २०११ शालमै सन्चालनमा आएको टरिगाउ विमानस्थल कुनैवेला पश्चिम नेपालको हवाइ ट्रान्जिट पनि बनेको थियो । यहि विमानस्थलबाट रुकुम सम्म उडान हुन्थ्यो, यहि बाट नेपालगन्ज, भैरहवा र काठमाण्डौ सम्म पनि प्लेन चढेर पुग्न सकिन्थ्यो । तर अहिले विमानस्थलको औचित्य हराउदै गएको छ । दर्जनौं जिल्लाबासीहरु भैरहवा र नेपालगन्ज गाडिमा पुगेर राजधानी सम्मको हवाइ सेवा लिदै आएका छन् । यसले इन्धन खपत ठुलो मात्रामा बढाइदिएको छ । बैदेशिक व्यापार घाटालाइ बढावा दिइरहेको छ । तर सरकारमा रहने उच्च अधिकारीहरुको प्रार्थमिकतामा यो विमानस्थल पर्न सकेन ।
यहांका राजनेताहरुको पहल टरीगाउ विमानस्थलमा नभएका होइनन्, अघिल्लो बर्ष पनि नागरीक उड्ययन प्राधिकरणका प्रमुख प्रदिप अधिकारी सहितको प्राविधिक टोलि धावन मार्ग विस्तारकालागी नांपजांच गर्न आएको थियो । प्रारम्भिक प्रतिवेदन अनुसार यसको धावनमार्ग स्तरोन्नती गर्नकालागी कम्तिमा पौने चार अर्व रुपैया लाग्ने अनुमान गरेको थियो । तर त्यसपछि यो प्रक्रिया वीचमै हराएर गएको छ । सायद आउने बजेटमा पनि यो हराएको हरायै हुने छ । किनकि नागरीक उड्ययन प्राधिकरणका वर्तमान डिजि प्रदिप अधिकारी स्वयम पनि यो विमानस्थलको स्तरोन्नतीका पक्षमा कहिल्यै सकारात्मक भएनन् । सधै उनको अभिव्यक्ति हुन्थ्यो, सरकारले यो नचल्ने एयरपोर्टमा यति धेरै लगानी गर्नु वेकार हुन्छ । तर प्रदिपका यी विचारलाई राजनेताहरुले चिर्न सकेनन् । जुन वेला यहांको एयरपोर्ट कालोपत्रे गरिएको थियो, त्यो वेला नागरिक उड्ययन प्राधिकरणबाट नापजांच गर्न आउने प्राविधिकको नेतृत्व उनै प्रदिपले गरेका थिए, ताकि टरीगाउ विमानस्थल यहि एलाइन्मेन्टमा थप विस्तार गर्न नसकियोस् । समस्या यहिनेर देखि सुरु भएको तुलसीपुर उद्योग वाणिज्य संघका एक जना पुर्व अध्यक्षले भने । उनका अनुसार नागरीक उड्ययन प्राधिकरणमा प्रदिप नेतृत्वमा रहेसम्म टरीगाउ विमानस्थलको स्तरोन्नती हुन सक्ने छैन ।
हो, टरीगाउ विमानस्थलमा जहाजले उडान भर्न छाड्दै गर्दा एयरपोर्टको धावनमार्गमा घास पलाउन थालेको स्थानियहरुले बताएका छन् । ‘उडान नहुने एयरपोर्टमा कम्तिमा गाइ चराउन पाए त हुन्थ्यो?’, एक जना स्थानियबासीले व्यंग गरे । इन्धन डिपो लगायतका धेरै संरचना निर्माण गरेर खालि यहांको एयरपोर्ट विस्तारकालागी आश्वासन मात्र दिने गरीएको उनको भनाइ थियो । अहिले यहांको एयरपोर्ट एउटा खेल मैदान जस्तै भएको छ । जव निर्वाचनको मिति नजिकिंदै जान्छ, एयरपोर्टमा राजनिति खेल्न धेरै नेता आउने गरेका छन् । यो नांटंकिले एयरपोर्टको स्तरोन्नती नहुने स्थानियहरुको आक्रोस पनि छ ।
– साक्षी खबरवाट


