प्रविधिले गाईगोरु पाल्न छोड्दै किसान

तुलसीपुर उपमहानगरपालिका १७ मजगाउँमा साहिती चौधरीका गोठमा कुनै समय गाई गोरुहरू भरिभराउ हुन्थे । तर, अहिले एक हल गोरी मात्र पालेकी छन् । खेतबारी जोत्नको लागि गोरुहरू धेरै पाल्ने गरेको भएयता पनि पछिल्लो समय गाउँगाउँमा ट्याक्टरहरू आएपछि क्रमश गोरु पाल्न छाड्दै गरेको उनको भनाइ छ । उनका अनुसार गाउँमा पछिल्लो समय सबैले कम मात्रामा गाईगोरुहरू पाल्ने गरेका छन् ।

उनले भनिन्, ‘पहिला खेतबारी जोत्नको लागि गोरुहरू धेरै पाल्ने गरेका थियौँ । तर, अहिले सबै खेतबारी ट्याक्टरले जोत्न गरेका छन् । त्यसैले अब गोरु पालेर पनि काम छैन् । तर, अहिले हामीले एक हल मात्र पालेका छौँ ।’ उनका अनुसार विगतमा आफ्नो घरमा ४ हल गोरु रहेका थिए । उनले ट्याक्टरले गर्दा सजिलो हुने भएयता पनि गोरुले जोतेको जस्तो नहुने समेत बताइन् । यस्तै उनले ट्याक्टरले नभ्याउने ठाउँमा गोरुले जोत्नु पर्ने भएकाले अहिले एक हल गोरुमा पालेको समेत बताइन् ।

यस्तै अर्का स्थानीय ६८ वर्षीय तारा बहादुर चौधरीले पनि २/४ हल गोरु घरमा पाल्दै आएका थिए । तर, उनले अहिले एक हल पनि पालेका छैनन् । पछिल्लो समय खेतबारी ट्याक्टरले जोत्न थालेपछी गोरु पाल्न छाडेको उनको भनाइ छ । उनले पनि ट्याक्टरले नभेटाउने ठाउँको लागि जोत्नको लागि राँगा पालेको बताए ।

विगत ६/७ वर्षदेखि गोरु पाल्न छाडेको भन्दै उनले खेतीपाती गर्ने बेला ट्याक्टरले सबै काम गरिदिन्छ, गोरु पाल्दा स्याहार गर्न धौ हुने भएकाले पाल्न छाडेको बताए । यस्तै उनले आफूहरूलाई ट्याक्टर भन्दा गोरुबाट खेतबारी जोत्दा फाइदा हुने समेत बताए । उनले भने, ‘पछिल्लो समय गाउँमा विस्तारै सबैले गाईगोरु पाल्न छाडेका छन् । काम गर्नको लागि ट्याक्टरबाट छिट्टो हुन्छ । तर, त्यसबाट काम गर्दा खर्च धेरै हुन्छ । अब सबैले ट्याक्टर प्रयोग गर्न थालेको छन् ।’

यस्तै उनले अहिले गाउँघरका गोठहरू गाईगोरु नपाल्दा रित्ता भएको भन्दै आफूले पनि कुनै समयमा ३ हल गोरु पाल्ने गरेको भएयता पनि अहिले राँगा मात्र पालेको बताए । अर्का स्थानीय खुशीराम चौधरीले पनि विगतको तुलनामा विस्तारै गाईगोरु पाल्ने क्रम घटिरहेको बताए ।

उनले पनि अहिले प्रविधिको युग भएसँगै सबै पुराना चिजहरू हराउँदै गइरहेको बताए । पहिलो आफ्नो घरमा पनि धेरै गोरुहरू हुने गरेकोमा अहिले एक हल राँगा मात्र पालेको भन्दै काम गर्नको लागि ट्याक्टर सहज भएयता पनि गोरुको जोताइ नै राम्रो हुने उनले बताए । उनले भने, ‘अहिले गाउँघरमा सबैले विस्तारै पाल्न छाडेका छन् । एकातिर प्रविधि बढेपछि किसानहरूलाई फाइदा भएको छ, भने अर्कोतर्फ गाईगोरुको मल नहुँदा खेतबारी बिग्रिएका छन् । गाईगोरुको जस्तो अहिलेको रासायनिक मल राम्रो हुँदैन ।’

यस्तै उनले पछिल्लो समय गाईगोरु पाल्ने क्रम घटिरहेको अवस्थामा अब घर लिपपोत गर्नको लागि पनि मल अभाव हुने अवस्था रहेको समेत बताए । उनले भने, ‘गाउँ पनि अब विस्तारै शहर जस्तै भइरहेको छ । गाउँमा पुराना घरहरू भत्काएर अहिले ठुलो सिमेन्टको घरहरू बन्दै गइरहेका छन् । जसले गर्दा पनि मानिसहरू अब गाईगोरु पाल्नुपर्छ, भन्ने तर्फ लागेका छैनन् ।’

अहिले खेतबारीमा गाईगोरुको मल प्रयोग नगर्दा उत्पादनमा पनि समस्या हुने र विभिन्न किसिमका रोगहरू लाग्ने गरेको समेत उनको भनाइ । यस्तै उनले प्रविधि आएपनि खेती किसानी गर्ने किसानहरूले एक हल गोरु अनिवार्य रुपमा पाल्नुपर्छ, भन्ने लागेर अहिले आफूले एक हल पालिरहेको समेत बताए । यस्तै उनले पछिल्लो समय युवाहरू विदेश जाने क्रम बढिरहेको हुँदा पनि खेती नगर्ने अवस्था भएकाले पनि गाईगोरु पाल्ने क्रम घटिरहेको बताए ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस