तुलसीपुर । हरेक जातजाती विशेषमा प्रयोग हुने संस्कृतिहरुको पुस्तान्तरणको चुनौतिसंगै थारु समुदायको भ्वाजमा लगाइने परम्परागत पहिरन र भेषभुसा पनि हराउन थालेका छन् । थारु समुदायमा विवाह (भ्वाज) का वेला दुलाहा र दुलहीले लगाउने भेषभुसा र पहिरन हराउन थालेपछि थारु समुदायमा संस्कृति जोगाउने चिन्ता देखिन थालेको थारु अगुवाहरुले बताएका छन् ।
थारु समुदायको भ्वाजमा दुलहाले लगाउने चौबन्दी (मार्किन भन्ने कपडाको सेतो रङको भोटी, लहङ्गा (लङ्घौटी), टाउकोमा लगाउने पगिया (सेतो कपडा), तथा दुलहीले लगाउने चोल्या, १२ हातको फ¥या, बरोहर जस्ता कपडाहरु अहिले पाउनै मस्कील छ । यो अवस्थाले थारु समुदायको संस्कृति पनि आधुनिकताको प्रतिस्पर्धासंगै हराउन थालेको थारु समुदायका अगुवा तथा वेसका निर्देशक चुर्ण वहादुर चौधरीले बताएका छन् । उनले यसलाइ पुस्ता हस्तान्तरणमा देखिएको चुनौति पनि भनेका छन् ।
थारु समुदायमा माघ र फागुन महिनालाई विशेष गरी विवाहको महिनाको रुपमा लिने गरिन्छ । ‘विवाह’लाई थारु भाषामा ‘भ्वाज’ भनिन्छ । माघ र फागुन महिना बाहेक अन्य महिना जस्तै असोज, कात्तिक, मंसिर, वैशाख, असार महिनामा परेका लगनको शुभ दिनमा विवाह नहुने भन्ने भने होइन । अन्य महिनामा पनि विवाह गर्न मिल्छ र हुन्छ पनि । विगतदेखि नै हुँदै पनि आएका छन् । तर थारु समुदायमा विशेष गरी माघ र फागुन महिना विवाहको महिना हुन् भन्ने गरिन्छ ।
थारु समुदायको विवाहमा हुने संस्कार र उपसंस्कार अन्य समुदाय भन्दा भिन्नै छ । जुन विवाहका संस्कार उपसंस्कार थारु समुदाय बाहेक अन्य समुदायमा गरिदैन र अन्य समुदायको संस्कारसँग मेल खाँदैन । तर ती संस्कार र उपसंस्कारहरु पछिल्लो समय लोप हुँदै गएको छ । नयाँ पुस्ता त यो विषयमा केही जानकार नै छैनन् भने पुराना पुस्ताले समेत चासो नदेखाएको पाइन्छ । थारु संस्कृतिविद चन्द्र प्रसाद चौधरीका भनाइमा उपल्लो पुस्ताले तल्लो पुस्तालाइ संस्कृतिको अभ्यासको पुस्तान्तरण नगर्दा यस्ता संस्कृतिहरु संकटमा परेका हुन् । अव संस्कृति जोगाउने पनि एउटा ठुलो चुनौति बनेको छ । ‘थारु संस्कृति हाम्रा गहना हुन्, यसैले नेपाललाई विविधता देश भनेर चिनाएको छ, अव यसलाई जोगाउन राज्यले पनि पहल गर्नु पर्दछ’, चन्द्र प्रसादले भने ।
कँहिकतै आफ्ना परम्परागत मौलिक संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने सोचाइ देखिएता पनि नयाँ पुस्ताले त्यसलाई स्वीकार गदैनन् । कारण पुराना पुस्ताले यी संस्कारहरुको महत्व र आवश्यकताबारे नबुझाउनु नै रहेको थारु समुदायका थारु अगुवाहरुले बताउँछन् । विज्ञान र प्रविधिको विकाससँगै अवका नयाँ पुस्ताहरु आधुनिक र नयाँनयाँ कुराहरुमा भिज्न थालेका छन् । उनीहरुलाई आफ्नो भन्दा अरुको संस्कार संस्कृति मन पर्न थालिसक्यो । आफ्नो संस्कार भन्दा पनि देखावटी र देखासिकीमा थारु समुदायको संस्कार परिणत भैसकेको छ । यसलाई संरक्षण गर्न निकै चुनौती रहेको थारु संस्कार संस्कृतिका जानकारले बताउँछन् ।
थारु समुदायको विवाहको मात्रै कुरा गरिरहँदा विवाह एउटा संस्कार हो भने यस भित्र धेरै उपसंस्कारहरु छन् । एउटा उपसंस्कार र संस्कृतिमा थारुहरुको भेषभूषा पनि पर्दछ । थारु समुदायको विवाहमा लगाइने भेषभूषा आफ्नै परम्परा अनुसारको छ तर उक्त मौलिक भेषभूषा पछिल्लो समय लोप हुँदै गएको छ । विवाहमा लगाउने थारु परम्परागत गरगहनासँगै भेषभूषा लगाउनै छोडिएको थारु समुदायका नागरिकहरुले बताउने गरेका छन् । थारु समुदायमा विवाहमा दुलहा र दुलहीले लगाउने भेषभूषा सेतो रङको हुन्छ । जुन अन्य समुदायको भन्दा निकै फरक हुने गर्दछ । दुलहाले लगाउने चौबन्दी (मार्किन भन्ने कपडाको सेतो रङको भोटी, लहङ्गा (लङ्घौटी), टाउकोमा लगाउने पगिया (सेतो कपडा), दुलहीले लगाउने चोल्या, १२ हातको फ¥या, बरोहर जस्ता कपडाहरु लगाउने गरिन्छ । तर यस्तो भेषभूषा लगाउन छोडेको तुलसीपुर ५ का सुशीला चौधरीले बताइन् ।
केही समय पहिले (गत वर्ष) तुलसीपुर १० की सचिता चौधरीको विवाहमा दुलहा र दुलहीलाई थारु मौलिक भेषभूषा लगाएर विवाह गरियो । उनीहरुको विवाहमा सरिक भएका सबैले धेरै वर्ष पछि थारु समुदायको विवाहमा लगाइने भेषभूषा लगाएको देख्न पाएकोमा हर्षित भए भने सचिताको जोडीको विवाहको फोटो सामाजिक सञ्जालमा पनि आयो । थारु समुदायमा धेरैले थारु समुदायको विवाहको भेषभूषा, संस्कृति देख्न पाइयो भनेर खुशी हुँदै यसलाई संरक्षण गर्नुपर्छ भन्ने कुराले सचिताको गाउँमा निकै व्यापकता पायो ।
तुलसीपुर १० की २१ वर्षिय सुस्मिता चौधरीले आफ्नै परम्गत विवाहमा लगाइने मौलिक भेषभूषा पहिलो पटक आफ्नै साथीको विवाहमा देखेको बताए । ‘बुवाआमा, हजुरबुवा हजुरआमाले भनेको मात्रै सुनेको थिएँ, कहिलेकाँही कसैकसैको फोटो देखेको थिएँ तर प्रत्यक्ष रुपमा यस्तो कपडा पहिलोपटक देखेँ’ उनले भनिन् । सचिता र सुस्मिताको गाउँमा सचिताको विवाहपछि धेरैको विवाह पनि भयो । तर कसैले पनि मौलिक भेषभूषा लगाएनन् । सुस्मिताले भनिन्, ‘गाउँमा भएका सबैको विवाहमा जान त सकिन तर फोटो सबैको देखेँ । सबैले आधुनिक भेषभूषा लै लगाएर विवाह गरे । यसरी त हाम्रो संस्कृति कसरी पो संरक्षण गर्न सकिएला र खै ?’ भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
संस्कृतिका जानकारले के भन्छन् त आफ्नो भन्दा पनि अरुको भेषभूषा राम्रो देख्नु, नयाँनयाँ डिजाइन डिजाइनका साडी, लेहेङ्गा लगायतका आधुनिक कपडाहरु प्रति आकर्षित हुनु, दोस्रो समुदायको प्रभाव पर्नु, आफ्नो मौलिक संस्कृतिको महत्व नबुझ्नु, आफ्नो समुदायको भेषभूषाको महत्वबारे अगाडिका पुस्ताले जानकारी नगराउनु लगायत कारणले लोप हुदै गएको थारु संस्कृतिका जानकार छविलाल कोपिलाले बताए । यसै गरी थारुहरुको संस्कृति अलिखित भएका कारण थारुको संस्कृति लोप हुँदै गएको उनको भनाइ छ । त्यसैले मौलिकता जोगाउनका लागि विशेष चाडपर्व, विवाह जस्ता विशेष कार्यक्रममा थारु समुदायका नागरिकहरुले मौलिक परम्परागत भेषभूषा लगाउन आवश्यक रहेको कोपिलाले बताए ।


