वर्षमानलाई लिएर तेह्रथुम उडे दाहाल, ओलीको गाउँमा दुई दिनसम्म यस्ता छन् कार्यक्रम

काठमाडौँ —नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम जाँदैछन् । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टर मार्फत् उनी त्यसतर्फ गएका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जानेछन् । आठराई वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । हाल आठराई गाउँपालिका–३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए ।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा दाहाल सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् ।

सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । उनी त्यहाँ रहँदा खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम रहेको माओवादी नेता रघु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस