नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रूपमा बन्द हुने

काठमाडौं । नागढुंगा सडक आज(बिहीबार)देखि आउँदो मंसिरर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ ।

नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।

सो आयोजनाले एक सूचना प्रकाशित गरी आज(बिहीबार)देखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुने जनाएको छ ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्न समेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस