तुलसीपुर। दाङको तलसीपुरस्थित टरिगाउँ एयरपोर्टबाट अहिले हप्ताको २ दिन दाङ– काठमाडौँ हवाई सेवा भइरहेको छ । एयरपोर्टको स्तरोन्नति नहुँदा अहिले सानो नेपाल एयरलाइन्सको जहाजले मात्र सेवा दिइरहेको छ । यसको विकासका लागि पटक पटक कुरा उठ्ने गरेको भएयता पनि अहिलेसम्म काम हुन सकेको छैन् । जसका कारण यो एयरपोर्टको विकास हुनेमा यहाँका नागरिकहरू आशङ्का व्यक्त गर्दछन् । निर्वाचनको समयमा होस्, वा प्रधानमन्त्री, मन्त्री र केन्द्रिय नेताहरू दाङ आएको बेला यही एयरपोर्टको कुरा उठाइन्छ । हवाइ सेवा नियमित नहुँदा यहाँका नागरिकहरूले निकै सास्ती भोग्नु स्थानीय महेश कुमार आचार्यले बताए ।
यस्तै उनले २०११ सालमा स्थापना भएको पुराना एयरपोर्ट अहिलेसम्म पनि विकास हुन नसक्नु निकै दुखद कुरा भएको पनि बताए । उनले भने,‘ अहिले पनि नियमित उडान हुँदैन, काठमाडौँबाट जहाज यस एयरपोर्टमा नआउँदा समस्या ढुक्क हुन सकिदैन, । यही एयरपोर्टमा हो, कुनै समय ३२ सिटको जहाज सञ्चालन भएको थियो । तर, अहिले सानो जहाज पनि नियमित छैन् । यो दाङ बासीको लागि दुर्भाग्य नै हो ।’

यस्तै उनले प्रदेशको राजधानी भएको ठाउँमा यस्तो अवस्था हुनु नै दुखदायी भएको समेत बताए । उनका अनुसार यहाँबाट पश्चिममा धनगढी, पूर्वमा सिमरा, पोखरा, काठमाडौँ, जुम्ला, नेपालगञ्ज, भैरहवा हवाइ सेवा यहाँबाट हुने गरेको थियो । अहिले मुस्किलले काठमाडौँ मात्र हुने गरेको छ । दाङमा नियमित हवाइ सेवा नहुँदा यहाँका नागरिकहरू नेपालगञ्ज, भैरहवा जान बाध्य भएको समेत उनको भनाइ छ ।
उनले भने,‘ यस्तो पीडा रहेको छ, की सडक मार्गबाट जाऔँ, भन्दा सडक राम्रो छैनन्, हवाइ मार्गबाट जाउ भन्दा नियमित हवाइ सेवा नै छैन् । यो पीडा दाङका नागरिकले कहिलेसम्म पाउने ? ’ यस्तै उनले जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने यो एयरपोर्ट विकासका लागि त्यति ध्यान नदिएको समेत बताए ।
उनले भने,‘ जिल्लाबाट धेरै नेताहरूले नेतृत्व गर्नु भयो । अहिले पनि गर्दै हुनुहुन्छ । तर, उहाँको विशेष पहल वा दवाव दिनु पर्ने हो रु तर, त्यति दिएको जस्तो लाग्दैन । जिल्लामा आएको बेला मात्र यसको कुरा उठाएर हुँदैन, यसको लागि केन्द्र मै दवाव दिन आवश्यक छ ।’ यस्तै उनले दाङमा अन्तराष्ट्रिय स्तरको विमान स्थल बनाउने कुराले गर्दा पनि यसको विकास हुन नसकेको बताए । उनले नेपालगञ्ज र भैरहवाको बिचमा रहेको दाङमा अन्तराष्ट्रिय विमान स्थलको आवश्यक नभएको भन्दै उनले यही एयरपोर्टको विकास गरेर ७२ सिट सम्मको जहाजले नियमित सेवा दिन बनाउनु पर्ने समेत बताए । यस्तै अहिलेको धावनमार्गलाई परिर्वतन गरि पूर्वपश्चिम बनाउने कुरा सुनेको भन्दै त्यो सम्भव नभएको समेत बताए ।
यस्तै अर्का स्थानीय डिल्ली बहादुर रावतले दाङ पहाडी जिल्लाको व्यापारिक केन्द्र र प्रदेशको राजधानी भएको हुँदा एयरपोर्टको विस्तार गरी ठूला जहाज सञ्चालन भए राम्रोसँग चल्ने समेत बताए । यस्तै उनले दाङमा एयरपोर्ट विस्तार नहुनुमा नेपालगन्ज र भैरहवाको कारण समेत रहेको आरोप लगाए । अहिलेको टरिगाउँ एयरपोर्ट विस्तारको लागि धेरै खर्च पनि नलाग्ने उनको भनाइ छ । अहिले साढे सात सय धावन मार्ग रहेको र बाँकी दक्षिणतर्फ जग्गा रहेको हुँदा सजिलो बन्ने सक्ने भएयता पनि अहिलेसम्म हुन नसक्नु हुने भैरहवा र नेपालगञ्जको कारण रहेको बताए ।
यस्तै उनले विदेशमा कस्ता कस्ता ठाउँमा एयरपोर्ट बनेको भन्दै यसलाई बनाउने उद्देश्यले विभिन्न बहानामा पन्छाउँदै गइरहेको समेत बताए । यस्तै उनले पछिल्लो समय एयरपोर्टलाई पूर्वपश्चिम बनाउने कुरा सुनेको भन्दै त्यो सम्भव नभएको र यो एयरपोर्ट विकास नगराउने नियत रहेको समेत बताए । केही समय अगाडि जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने तथा स्थानीय तहका जनप्रतिनिधि र उद्योगीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट विस्तारको लागि ज्ञापन पत्र बुझाएका छन् । बजेटको सुनिश्चिता भएमा यो एयरपोर्टको विकासमा कुनै समस्या नहुने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले बताए । यस्तै उनले जतिसक्यो चाँडो यो एयरपोर्टको विस्तार गर्नु पर्ने र यसको विस्तारको कुनै विकल्प नै नरहेको समेत बताए ।
उनले भने,‘ नेपाल एयरलाइन्सले शुरुमा हप्ताको ४ वटा सेवा दिदैँ आएको थियो । तर, विधि कारणले हप्ताको एक दिन वा दुई दिन दिदैँ आएको छ । एयरपोर्ट सानो हुँदा सानो जहाजले मात्र सेवा दिने गरेको छ । नेपाल एयरलाइन्ससँग पनि साना जहाज कम र निजी हवाइ कम्पनीसँग पनि कम छन् । पहाडी रुटलाई छाडेर दाङ आउने सम्भावना छैन्, जसले गर्दा अब यहाँका नागरिकहरूलाई सेवा दिनको लागि एयरपोर्ट विस्तारको अरु विकल्प नै छैन् ।’ अब पनि यसको विस्तार नभए दाङका जनतालाई धोका नै हुने समेत उनको भनाइ छ ।
यस्तै उनले पूर्वपश्चिम धावन मार्ग बनाउँदा जग्गा अधिकरण गर्नको लागि करिब एक वर्ष लाग्ने अनुमान छ । त्यो बजेटको सुनिश्चिता सरकारले गरेको खण्डमा त्यो पनि बन्न सक्छ । तर, बजेट सुनिश्चिता नभएको खण्डमा त्यो हुन सक्दैन । यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय अगाडि एयरपोर्टको बिस्तार लगायत समग्र दाङको विकासका लागि ८ बुँदे ध्यानाकर्षण बुझाइएको बताए । यसका बारेमा प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको र एयरपोर्टको विकासका लागि यहाँका जनप्रतिनिधिहरू सहित सबै एक ठाउँमा उभिएको समेत बताए ।
यस्तै उनले एयरपोर्टलाई पूर्व पश्चिमको धावन मार्ग निर्माण जग्गा प्राप्तीका लागि स्थानीय तहले भूमिका निर्वाह गर्नु पर्ने र पैसा सुनिश्चिता गर्नको लागि आफूले खोज्ने भनेर प्रधानमन्त्रीबाट आश्वासन पाएको समेत उनले बताए । हप्ताको ४ दिनसम्म हवाइ सेवा दिँदै आएको नेपाल एयरलाइन्सले अहिले हप्तामा मङ्गलबार र शुक्रबार सेवा दिँदै आइरहेको छ । यात्रुहरू जहाजको क्षमता अनुसार हुने गरेको नेपाल वायुसेवा निगम तुलसीपुरका प्रमुख बल बहादुर सुनारले बताए । दाङ– काठमाडौँको भाडा दर ७ हजारदेखि ८ हजार ७७५ रुपैयाँ रहेको छ । २०११ सालदेखि सञ्चालनमा आएको एयरपोर्टमा तत्कालीन लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा ७५० मिटर मात्रै धावनमार्ग कालोपत्रे भएको छ, भने १९ सिटे विमान मात्रै अवतरण गर्न सक्छन् ।


