विद्यार्थीले उत्पादन गरेको बस्तुले बजार नपाउँदा …

शान्तिनगर,  दाङको शान्तिनगर गाउँपालिका २ स्थित जनकल्याण माध्यामिक विद्यालयले २०७३ सालदेखि प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म बाली विज्ञान पढाउन शुरु गरेको हो । विद्यालयको प्रशस्त जग्गा भएका कारण विद्यार्थीहरूलाई सिकाउँदै, कमाउँदै कार्यक्रम सञ्चालन गरिरहेको भएयता पनि विद्यार्थीहरूले उत्पादन गरेको तरकारी तथा अन्न बालीले बजार नपाउँदा समस्या हुने गरेको छ । 

पढ्दै, सिक्दै, कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीले विद्यालयको जग्गामा विभिन्न जातका तरकारी,  फलफूलको खेती गरेका छन् ।  उनीहरूले मकै खेती पनि गरेका थिए । मकै जसोतसो काँचो बिक्री भएयता पनि तरकारी खेतीले बजार नपाउँदा समस्या भइरहेको कक्षा १० मा अध्ययनरत विद्यार्थी लिला बिकले बताइन् । यस्तै उनले आफूले कक्षा ९ देखि नै बाली विज्ञान पढ्दै आएको भन्दै यसले धेरै कुराहरू सिकाएको भएयता पनि व्यवहारमा लागू गर्दा बजारको समस्या हुने गरेको बताइन् । उनले भने,‘  हामीले कसरी खेतीपाती गर्ने भन्ने कुरा घरमा थाहा थिएन, सधैँ हामी परम्परागत रुपमा खेती गर्दै आएको छौँ । तर, यो विषय पढेर मलाई  कुन समयमा कुन खेती गर्ने भन्ने कुराको ज्ञान भएको छ ।

घरमा त्यही अनुसार नै गर्ने गरेका छौँ । ’ विद्यालयमा पढ्दै सिक्दै कमाउँदै अन्तर्गत विभिन्न समयमा विभिन्न किसिमका तरकारी खेतीहरू गरेका हुन्छौँ, तर, राम्रो उत्पादन भएपनि बिक्री हुँदैन । गाउँमा सबैले आफ्नो घरको लागि तरकारी लगाएका हुन्छन्, जसका कारण पनि बिक्रीमा समस्या हुने गरेको उनको भनाइ छ । यस्तै उनले बजारको व्यवस्थापन हुन सकेमा मात्र विद्यालयको जग्गा प्रशस्त रहेको हुँदा आयआर्जन गर्न सजिलो हुने समेत बताइन् । 

यस्तै अर्का विद्यार्थी गौरव वलीले पनि आफूहरूले उत्पादन गरेको बस्तुले बजार नपाउने गरेको बताए । उनले भने,‘ हामीले विद्यालयमा पढ्दै सिक्दै गरेर उत्पादन गरेका हुन्छौँ । त्यसले  राम्रोसँग बजार पाउन सकेमा आयआर्जनको लागि धेरै राम्रो हुन्थ्यो । हामीलाई जुनसुकै खेती गरौँ, भने पनि विद्यालयको जग्गा धेरै छ । त्यसमा कुनै समस्या छैन् । तर, मुख्य समस्या भनेको सहज रुपमा बिक्री हुँदैन । ’ यस्तै उनले आफूहरूले किताबबाट सिकेका कुराहरू व्यवहारमा देखाउनको लागि विद्यालयको जग्गा प्रशस्त भएका कारण सहज भएको भन्दै उनले बजारिकरण भएमा धेरै जग्गामा खेती गर्ने र पश्चिम दाङ कै नमुनाको रुपमा विद्यालयलाई चिनाउन सक्ने समेत बताए । उनले भने,‘ कक्षा ९ देखि यो विषय पढेपछि बल्ल खेतीको बारेमा राम्रोसँग ज्ञान भएको छ । यसले मेरो घरमा मात्र नभइ समाजमा पनि खेती कसरी गर्ने, रोग कीरा कसरी नियन्त्रण गर्ने जस्ता कुरा पनि सिकाउन पाइएको छ ।

यो विषय पढ्न पाउँदा निकै खुशी लागेको छ ।’ विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा विद्यार्थीहरूले करिब एक बिगाहा जमिनमा विभिन्न खेती गर्दै आएको भएयता पनि उत्पादन गरेका बस्तुले बजार नपाउँदा समस्या हुने गरेको  विद्यालयका शिक्षक कृषि संयोजक विनोद गैरेले बताए ।  उनका अनुसार यो कार्यक्रम अन्तर्गत खाद्यान्न बाली, तरकारी खेती, फलफूल खेती लगाउने गरिएको छ । बर्खाको समयमा खाद्यान्न बाली अन्तर्गत मकै  खेती लगाएको  भन्दै उनले करिब ५ हजार बराबरको बिक्री भएको समेत बताए । यस्तै तरकारी खेतीमा काउली, टमाटर, भिन्डी, खुर्सानी  लगायतको खेती गर्ने गरेको भएयता पनि बजारिकरणमा  समस्या हुने गरेको उनको भनाइ छ । उनका अनुसार पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रमले विद्यार्थीहरू उत्साहित हुने गरेको भएयता पनि उत्पादन गरेको बस्तुले बजार नपाउँदा  समस्या भइरहेको छ । उनले भने,‘ एक दिन  विद्यार्थीले १०  किलो भिन्डी निकालेका थिए । तर, ४÷ ५ किलो मात्र बिक्री भयो ।  उत्पादन भएको बस्तुले बजार नपाउँदा बोट मै छिप्पिएको हुन्छ । यदि राम्रोसँग बजार व्यवस्था हुने सकेमा जग्गा धेरै रहेकोले धेरै उत्पादन गर्न सकिन्छ ।’ 

उनका अनुसार बजारदेखि पश्चिम गाउँमा विद्यालय रहेको हुँदा र गाउँघरमा सबैले आफूले खानाको लागि तरकारीहरू उत्पादन गर्ने हुँदा गाउँमा बिक्री कम मात्रामा हुने र बजार पठाउँदा ढुवानी धेरै लाग्दा फाइदा नहुने हुँदा पनि  समस्या हुने गरेको उनको भनाइ छ । विद्यालयको नाममा २९ बिगाहा बढि जग्गा रहेको छ । विद्यालयले पढ्दै, सिक्दै,  कमाउने वातावरणको सृजना गरेको विद्यालयका प्रधानध्यापक निम बहादुर केसीले बताए ।  प्राविधिक धारतर्फ प्रत्येक कक्षामा ४४ जना विद्यार्थीको कोटा रहेको छ । विद्यालयमा ८ कोठाको कृषि भवन रहेको समेत उनले बताए ।

यस्तै च्याउखेतीका लागि टर्नेल, बिउ उत्पादन तथा बेमौसमी तरकारी खेतीको लागि पनि टनेलहरू रहेको उनको भनाइ छ । सिँचाइको लागि विद्यालय भित्र नै सिँचाइ पोखरी पनि निर्माण गरिएको उनले बताए । उनले भने,‘ हामीसँग जग्गा प्रशस्त नै छ । विद्यार्थीहरूले पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रम लागू गरेका छौँ । उनीहरूले नै उत्पादन गर्छन्, उनीहरूले नै पैसा कमाउँछन् । अलि समस्या  भनेको बजारिकरण रहेको छ । ’ यो कार्यक्रमले विद्यार्थीहरू उत्साहित भएको र थोरै भएपनि कापी कलम किन्न आफै कमाएको समेत उनले बताए । 

साक्षी खबरवाट

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस