विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट

काठमाडौं– मनिष कार्की र दावा शेर्पा चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

नेपाल क्योकुसिन कराते आइकेओ संघले मंगलबार एक दिने छनोट प्रतियोगिता आयोजना गरेको थियो । पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनिष छनोट भए । उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे ।

पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी २२ देखि २५ सम्म जापानमा हुनेछ ।

छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती थिए ।

खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस