घोराही – दाङको भैंसाही नाकामा औलो संक्रमण फैलिएपछी स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । नेपालको बाटो भएर घटनास्थलमा जान नसक्ने अवस्था भएपछि कोइलावास नाका भएर भारतको बाटो हुदै भैंसाही नाकामा स्वास्थ्यकर्मीको टोली जान थालेको हो ।
भैंसाही नाकामा ज्वरो आएका बिरामी दश जना भन्दा बढी छन् । औंलो संक्रमण फैलिएकाले उपचार टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
औंलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखा पर्छ । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।
लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्ने जोखिम रहने स्वास्थ्य कार्यालयले जनाएको छ ।


