तुलसीपुरका अटोमा नयाँ भाडादर लागु, बजार क्षेत्रमा ५० रुपैयाँ

तुलसीपुर । दाङको तुलसीपुमा अटोका लागी नयाँ भाडादर लागु गरिएको छ ।

यात्रुहरुबाट व्यापक गुनासो आएपछी मंगलबार तुलसीपुर उप–महानगरपालिकाले तुलसीपुरका अटो व्यवसायी समिति र ट्राफिक प्र्रहरीलाई बोलाएर यस विषयमा छलफल गरेको हो ।

सोही छलफलबाट अटोहरुका लागी नयाँ भाडादर लागु गरिएको तुलसीपुर उप–महानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर बजारदेखी पुर्वमा मोतिपुर, पश्चिममा कृष्ण मन्दिर, दक्षिणमा एयरपोर्ट चोक र उत्तरमा माताकोटीसम्म बजार क्षेत्रको सिमाना तोकेर नयाँ भाडादर कायम गरिएको छ ।

भाडादर यस प्रकारका तोकिएको छ । यी सिमाना भित्र अटोमा चढेपछी एकजना बराबर ५० रुपैयाँ भाडा लाग्ने भएको छ । बजार क्षेत्र भन्दा बाहिर जानुपरेमा एक किलोमिटर बराबर १२ रुपैयाँमा दरले भाडा लाग्ने उहाँले बताउनुभयो । यस्तै बृद्ध, बृद्धा र अशक्त, अपांगहरुका लागी भने यसमा १० प्रतिशत छुट हुने भएको छ । यसैगरी राती ९ बजेदेखी बिहान ५ बजेसम्म भने यसको दोब्बर भाडा लिन पाउने सुविधा गरिएको छ ।

तोकिएको भन्दा धेरै भाडा लिएको अवस्थामा तुलसीपुर उप–महानगरपालिका उपभोक्ताहित संरक्षण शाखामा जानकारी गराउन पनि आग्रह गरिएको छ । यसअघि तुलसीपुर बजार क्षेत्रमा अटोका लागी प्रतिव्यक्ती ६० रुपैयाँ र २ जना चडेको अवस्थामा पनि ३०–३० रुपैयाँका दरले ६० रुपैयाँ नै भाडा तोकिएको थियो ।

प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस