सहारा विहिन कुमाल दम्पतीलाई खाद्यान्न सहयोग

लमही । लमही नगरपालिका -९ तेलियाका कुमाल दम्पतीलाई खाद्यान्न सहयोग भएको छ । ८० वर्षिय चुडामणी कुमाल र पवित्रा कुमाललाई दाताहरुले घरमै पुगेर सामाग्री प्रदान गर्नु भएको हो ।

साहारा बिहिन कुमाल दम्पतीकोबारे दाङ समाचार नामक अनलाइन मिडियाले प्रशारण गरेको भिडियो सामाग्री सुनेर इलाका प्रशासन कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख इश्वरी भारती र सोही कार्यालयका सुनिता बोहराले ५० किलो चामल,दाल, नुन, तेल, चप्पल, लत्ताकपडा लगायतका सामाग्री घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

उमेर छउन्जेल जमिन्दारको घरमा कमैयाको भूमिकामा रहेर बैँस सकाए । अहिले असिको आसपासमा रहेका चुडामणी जब उमेर ढल्किदै गयो तब जमिन्दारको घर छोडेर आफ्नो बास बसेरो जोड्न तर्फ लागे । जमिन्दारको घरमा हुँदासम्म जग्गा जोत्ने, गाईभैसी चराउने, घाँस दाउरा काट्ने जस्ता काममै अल्झिए ।

जमिन्दारको घरमा काम छोडेर आफ्ना आफन्त खोज्दै उनी अर्को गाउँ तिर लागे । केही समय पछि चुडामणीले श्रीमती गुमाए । श्रीमतीको वियोगमा लामो समय उनी रन्थनिए । दु:ख बिमार हुँदा तातो चिसो पानी दिने कोहि नभएपछि आफ्ना आफन्तको सल्लाहमा उनले अर्कि श्रीमती घर भित्र्याए ।

उमेरले नेटो काट्दै गएपछि चुडामणीले आँखा पनि देख्न छोडे । यतिबेला कान्छी श्रीमती पवित्राको सहयोगमा भित्र बाहिर गर्छन । खुट्टामा चप्पल हुदैनन, शरिरमा लुगा हुदैन । उनको अबस्था निकै दर्दनाक छ ।

लमही नगरपालिका -९ का वडा अध्यक्ष भेष बहादुर केसी र वडा सदस्य गणेश कुमालको सहयोगमा जेनतेन नागरिकता बन्यो । आज त्यही नागरिकताको सहयोगमा वृद्ध भत्ता आउने गरेको र साझ बिहान हात मुख जोड्न सजिलो भएको उनिहरुको भनाई छ ।

जेठी श्रीमतीबाट दुई छोरा थिए । जेठा छोरा कामको शिलशिलामा भारत गएका थिए, उनी जिउँदो छन या मृत उनको अवस्था अहिलेसम्म थाह छैन । कान्छो छोरा पनि मजदुरी गर्न बुटवल गएका थिए, उनी पनि लामो समय बिरामी भएर थला परे र उतै अस्ताए ।

चुडामणी र पवित्रा कुमालको अवस्था निकै पिडादायी छ । न बस्ने घर गतिलो छ । सुत्न बस्न खानको लागि पनि धेरै समस्या छ।

पत्रकार लिला शाह, वडा सदस्य गणेश कुमाल लगायतको उपस्थितिमा सहयोग गरिएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस