राेल्पा ।
रोल्पाको सुनछहरी गाउँपालिकाले प्राथमिक तहमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध सुरु भएको छ ।
पालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर (खाम) भाषाको कक्षा सुरु गर्ने तयारी थालेपछि गैर खामभाषीले निणर्य फिर्ता लिन माग गरेका हुन् ।
मगर खाम भाषीको बाहुल्य रहेको गाउँपालिकामा कक्षा ८ सम्म मगर (खाम) भाषाको एउटा विषय अनिवार्य गर्ने पालिकाको तयारी छ । योजना अनुसार पहिलो वर्ष कक्षा १ मा अनिवार्य खाम भाषा पढाइ सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका ३३ वटा स्कुलमा मगर (खाम) भाषाको पढाइ हुनेछ । सबै स्कुलमा खाम भाषा अनिवार्य गर्दा खस आर्य तथा गैर खामभाषी विद्यार्थीलाई समस्या हुने भन्दै अनिवार्य नगर्न गाउँपालिकामा ज्ञापनपत्र समेत पेश गरिएको छ ।
खाम भाषा तत्कालाई अनिवार्य नगर्न माग राख्दै स्थानीय टेकबहादुर विष्टको संयोजकत्वमा गठित टोलीले गाउँपालिका अध्यक्ष पुनमगरलाई ज्ञापनपत्र बुझाएको हो ।
पालिका अध्यक्ष पुनमगरका अनुसार पालिकाको कुल जनसंख्यामध्ये ७२ प्रतिशत मगर समुदाय छ । तर, भाषागत रुपमा ४७ प्रतिशतमात्रै मातृभाषा बोल्ने मगर रहेका छन् । उहाँले मगर खाम भाषा लोप हुन लागेकाले त्यसलाई जगेर्ना गर्न खाम भाषा अनिवार्य गर्न लागिएको दाबी गर्नुभयो ।
खाम भाषाका लागि तयार पारिएको पाठ्यपुस्तकमा खाम भाषामात्रै नभएर नेपाली, अंग्रेजीमा सबै शब्दार्थ पनि राखिएकाले अन्य भाषाभाषीलाई समस्या भने नहुने पालिका अध्यक्ष पुनमगरले दाबी गर्नुभयो ।
मगर खाम भाषा पढाउन शिक्षकको समेत माग भइसकेको पालिका अध्यक्ष पुनमगरले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष १ कक्षा र त्यसपछि विस्तारै ८ कक्षासम्म अनिवार्य खाम भाषाका कक्षा सञ्चालन गर्ने योजना छ ।


