जुम्लामा आगलागीबाट एक बालिकाको मृत्यु

जुम्ला। जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ ।

चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए ।

प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् ।

आइतबार राति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ । घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ ।

घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको खुट्टाको केही भागमा जलेको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस