काठमाडौं । त्रिभुवन विश्वविद्यालयलयले स्ववियु निवार्चन फागुन अन्तिममा गर्ने तयारी गरेको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको बैठकले फागुन अन्तिममा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।
त्रिविको कार्यतालिकाअनुसार प्रत्येक दुई वर्षमा फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने थियो । तर १४ वर्षदेखि त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन ।
त्रिविले शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार सबै डिनहरु, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र केही क्याम्पस प्रमुखसँग छलफल गरेको थियो ।
विद्यार्थीहरुको पढाइ, भर्ना र परीक्षा कार्यक्रम प्रभावित नगर्ने गरी निर्वाचन गर्ने तयारी भइरहेकाले फागुनको अन्तिममा चुनाव हुन सक्ने भुसालले बताए ।
शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।


