विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो ।

अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ।

क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना समूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो ।

यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ ।

जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ ।

पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले अब साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएर लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो ।

पछिल्ला दुई विश्वकपमा पराजित भएका टिमहरू यसपटक सेमिफाइनलमै भिड्नेछन् र एक मात्र फाइनल पुग्नेछन् ।

सेमिफाइनल खेल

क्रोएसिया भर्सेस अर्जेन्टिना – मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे

मोरक्को भर्सेस फ्रान्स – मंसिर २८ गते बुधबार मध्यराति पौने १ बजे

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस