मतदाता शिक्षा नागरिकमा शुन्य, उम्मेदवारलाई चुनावकै रन्को

बुटवल। जनताले आफ्ना जनप्रतिनिधि चुन्ने दिन आउन अब ठिक ६ दिन बाँकी छ । चुनाव नजिकिदै गर्दा यसअघि तामझामका साथ घरदैलो गर्ने प्रचलन थियो । तर अहिले पहिलेको जस्तो चुनावी माहोल देखिएको छैन् । निर्वाचन आयोगले तामझाम गरेर प्रचारप्रसारलाई निगरानीमा राख्दै साउण्ड सिस्टम, माईकिङ्ग, डिजिटल बोर्ड, पर्चा, भित्ते लेखन जस्ता कार्य नगर्न आचारसंहिता लागू गरेपछि दलहरुले भेटघाट तथा साना कार्यक्रम गरेर चुनावी कार्यक्रमलाई रफ्तारमा लगेका छन् ।

रुपन्देहीका केहि क्षेत्रमा स्थलगत रुपमा गरिएको समाचार संकलनका क्रममा दलका नेता कार्यकर्ताहरुलाई चुनावी माहोल तातिएको भएपनि मतदाताहरु भने अन्यौलमा भएको पाईयो । आगामी मंसिर ४ को निर्वाचनमा चार जना उम्मेदवारलाई भोट दिनुपर्ने भएकाले ४ वटा पतपत्रमा कसरी मतदान गर्ने, कसरी गर्दा सदर हुन्छ, या बदर भन्ने शिक्षा नभएको पाईएको हो । बुटवल उपमहानगरपालिका वडा–१४ का चन्द्र वहादुर थापा उमेरले ५८ बर्षका भए, उनले आफुले रोजेको उम्मेदवारलाई भोट हाल्ने इच्छा भएको बताउँदै अहिले सम्मको चुनाबमा एक वा धेरै पतपत्रमा भोट नहालेकाले आफुले मनपराएको व्यक्ति एंव पार्टीलाई कसरी मत दिने होला भन्ने चिन्ता व्यक्त गरे ।

उनले भने, जिल्लाका छुट्टाछुट्टै क्षेत्रहरुमा गठबन्धनमा रहेका दलका नेताहरुले आ–आफ्नो चुनाव चिन्ह लिएर उठेकाले कुन उम्मेदवारलाई कुन चिन्हमा स्वस्तिक छाप लगाउने जस्ता मतदाता शिक्षाबाट बञ्चित भएकाले अन्योलमा भएको जनाए । बुटवलको सुकुम्बासी समस्या, तिनाउ नदिद्धारा बर्षेनी बस्ती कटान जस्ता समस्या हल गर्न आग्रह गरे । बुटवल उपमहानगर वडा–१७ का हिमलाल न्यौपाने भातरमा १२ बर्ष बसे, उनी नेपाल बस्न थालेको २ बर्ष भएको बताए । रोजगारका लागि लामोसमय भारतमा काम गर्नुपरेको भन्दै न्यौपानेले भने, अव देशमा रोजगारका लागि हामीले भोट दिएर पठाएका नेताहरुले उद्योग कलकारखानाको स्थापना गरि स्वदेशमै रोजगारी दिनुपर्नेमा जोड दिए । मतदान सम्बन्धि उनले पुरानै तरिकामा दिने वताए । तर उनलाई मंसिर ४ को चुनावमा चार वटा मतपत्रमा भोट दिनुपर्ने थाहाँ नभएको सुनाए । निर्वाचित भएर जाने नेताहरुले संविधानमा लेखिएको शिक्षा र स्वास्थ्यलाई निः शुल्क दिने अक्षरसलाई लागू गर्न आग्रह गरे ।

बुटवल–१८ का जनक धितालले पनि साक्षर युवायुवती लगायत अन्य उमेरका नागरिक विदेश तिर गएको, गाउँघरमा धेरैजसो निरक्षर भएको बताउँदै त्यसमा दलका नेताहरुले मतदाता शिक्षा भन्दापनि भोट माग्न आतुर हुँदै हिंडेको बताए । नेताहरुलाई साक्षर बर्गको भोट भन्दा निरक्षर विपन्न बर्गको भोट निर्णायक वन्ने भएकाले ती बस्तीहरुमा मतदाता शिक्षा शुन्य भएकाले मत बदर हुनसक्ने स्पष्ट पारे ।

उम्मेदवारहरुलाई उनले भने, बुटवल –१८ मा खेतीयोग्य जमिन छ । खेती गर्नका लागि किसानहरुले बुटवल–३ गोलपार्क नजिक तिनाउ नदिबाट अस्थायी बाँध बाँधेर पानी ल्याउनुपर्ने बाध्यता छ । हरेक बर्ष बाँध बाँध्नुपर्ने र ठूलो वर्षा भएपछि बाढीले बगाईदिन्छ। कहिले खेती गर्न, कहिले बालीहरुमा सिंचाई गर्नबाट किसानहरु मर्कामा पर्ने भएकाले पक्की नहरको आवश्यक रहेको आवश्यक्ता सुनाए । उनले उत्पादनमा जोड दिनका लागि किसानहरुलाई सिंचाई गर्न डिप बोरिङको व्यवस्था गर्नसके स्थानीय उत्पादनमा कमि नआउने अपेक्षा गरे ।

भुमिराज पन्त सियारी गाउँपालिका वडा–७ का स्थायीबासी हुन्। उनी उमेरले ७० बर्ष पुगे । निर्वाचन बारेको कुराकानीमा उनले उम्मेदवारहरु गाउँठाउँका चोकमा भेला गराएर निर्वाचन सम्बन्धि कार्यक्रम गर्दै हिडेको जनाउँदै मतदान कसरी गर्नेबारे सिकाउन ध्यान नदिएको बताए । मतदातालाई मतदान सम्बन्धि ज्ञान जरुरी रहेको भन्दै निर्वाचन आयोग पनि जिम्मेवार बन्नुपर्ने सुझाए । रोजगारी, सिंचाई, किसानलाई बर्षायाममा मल लगायत कुरामा निर्वाचित भएर जाने नेताले कुनै पहल नगर्ने, चुनावका वेला भोट माग्न सबैभन्दा धेरै त्यही किसानका घरमा पुग्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने औल्याए ।

सिद्धार्थनगर नगरपालिका वडा–६ गल्लामन्डीका विनय गुप्ताले जनताले चुनेर पठाएका नेताले जनतामूखि योजान ल्याएर विकास गर्नुपर्ने र विशेषगरी देशको अर्थतन्त्रलाई चलाएमान गराएर उद्योगी व्यवसायीहरुलाई सहज बनाई दिन अपिल गरे । पछिल्लो समय देशको अर्थतन्त्रमा तरलता छाएकाले धेरै उद्योगी व्यवसायीहरु धरासायी एंव केही व्यवसायीहरुले आत्महत्या गरेको घटना सुनाउँदै नागरिकका सवलमा ध्यानाकर्षण गराए ।

सोही वडाकै महोम्मद अलीले पनि देश र जनताको वृद्धि विकास गर्नुपर्ने उल्लेख गर्दै मतदान सम्बन्धि ज्ञान कुनै दल तथा निर्वाचन आयोग कसैले पनि नदिएको गुनासो गरे । निर्वाचनमा यसपाली प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ, प्रतिनिधि सभाको समानुपातिक, प्रदेश सभा सदस्य पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीमा र प्रदेश सभा सदस्यको समानुपातिक प्रणालीमा भोट दिनुपर्ने र गठबन्धन गरिएका दलका नेताहरु क्षेत्र अनुसार पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकाले नागरिकहरु अलमलमा परेको बुझिएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नागरिकलाई सहजरुपमा मतदान गर्नका लागि रुपन्देहीमा २ सय १३ मतदान स्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्ण कोईरालाले वताए । चुनावलाई भयरहित गराउन जिल्लामा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८ सय ८८, म्यादी प्रहरी १ हजार ३ सय ९५, ८ हजारभन्दावढि कर्मचारी र सेनालाई आवश्यकता अनुसार परिचालन गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनाए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस