दाङ । नेपाल मुख्य केही सहरमा वायु प्रदूषण अस्वस्थकर देखिएको छ । आज दाङको तुलसीपुरमा र काठमाडौं उपत्यकाको भक्तपुरमा सबैभन्दा धेरै प्रदूषण रहेको पाइएको छ । तुलनात्मक रुपमा तुलसीपुरको हावा धेरै दूषित छ ।
आज बिहान तुलसीपुरमा हावाको गुणस्तर मापन (एक्यूआई) १ सय ६९ र भक्तपुरमा १ सय ३७ रहेको छ । त्यस्तै भरतपुरमा १ सय २५ र बुटवलमा १ सय १९ छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्योभन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रिएको र यसको असर अझै केही दिन रहने अनुमान छ । प्रदूषित हावा थप फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिए ।
यस्तो हावाले स्वास्थ्यमा निक्कै असर गर्ने डाक्टरहरु बताउँछन् । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् ।


