बेलझुण्डी । विश्वविद्यालय विद्यापीठ बेलझुण्डीमा २०७९ सालका विजयादशमी, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान तथा विचारगोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूको प्रमुख आतिथ्य, नेसंविप्रासंघ विश्वविद्यालय विद्यापीठ एकाइ सभापति उपप्रा डा. रघुनाथ नेपालको अध्यक्ष्यता तथा नेसंवि परीक्षा नियन्त्रक सहप्रा डा. बाबुराम आचार्यको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले वैदिक मङगलाचरण गरेका थिए भने उपप्रा डा. रीता ज्ञवालीले स्वागत मन्तव्य दिएकी थिइन् ।

कार्यक्रममा उपकुलपति लामिछानेले
संस्कृत विश्वविद्यालयलाई विशिष्टीकृत विश्वविद्यालयका रूपमा कानुनी व्यवस्था गरी प्रमाणपत्र तहदेखि नै कक्षा चलाउनका लागि सरकारी निकायसँग प्रस्ताव राखेको र देशभर २५ संमावि भएको तर तिनमा पनि संस्कृत पढाइ नभैरहेको अवस्थामा अविलम्ब संस्कृत अनिवार्य पठनपाठन गराउन परिपत्र गरिदिन सरकारलाई आग्रह गरेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गर्दा डा. रीता ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै जानुका महत्त्वपूर्ण कारण- पर्याप्त पूर्वतयारी र वैकल्पिक व्यवस्था नै नगरी एकाएक उत्तरमध्यमा विस्थापित गर्नु र देशभरका संस्कृत माविहरू साधारण माविमा रूपान्तरित हुँदै जाँदा विद्यार्थी स्रोत सुक्नु हो भन्ने विचार राख्दै यस समस्याको समाधानमा गम्भीर हुनुपर्ने धारणा राखेकी थिइन ।
‘विश्वविद्यालयीयसमस्या-समाधानोपायाः ‘ विषयक संस्कृतमय विचारगोष्ठीमा उपप्रा हरिलाल पौडेलले विश्वविद्यालयले झेल्दै आएका अनेक समस्याहरूमध्ये सबैभन्दा मूलभूत समस्या विद्यार्थीसंख्याको न्यूनता रहेको बताउँदै त्यसका अनेक कारणहरू खोतल्दै समाधानको लागि संस्कृत शिक्षालाई जनजीविकासँग जोड्ने गरी पाठ्यक्रममा सामयिक परिमार्जन गर्नुपर्ने, सरकारले माध्यमिक तहमा संस्कृत विषयको पठनपाठनको व्यवस्था गर्नुपर्ने, संस्कृत मावि र गुरुकुलहरूलाई विश्वविद्यालयले सक्दो सहयोग गरी प्रोत्साहित गर्नुपर्ने, संस्कृत वाङ्मयको महत्त्व सबैलाई बुझाइनुपर्ने र त्यसका लागि प्राध्यापक वर्ग, इमानदारीपूर्वक लाग्नुपर्ने, विद्यापीठहरूमा गुरुकुलीय संस्कार र आचरणको विकास गर्नुपर्ने, विश्वविद्यालयको समुन्नतिका लागि प्राध्यापक, कर्मचारी र पदाधिकारी सबै चिन्तित र इमानदार हुनुपर्ने, पुस्कार र दण्डको नीति लिनुपर्ने, गुरुकुलहरूसँग विद्यार्थी आकर्षणका मन्त्रहरू सिक्नुपर्ने जस्ता उपायहरू सुझाएका थिए ।
परीक्षा नियन्त्रक सहप्रा डा. बाबुराम आचार्यले
समस्या धेरै, समाधानका उपाय थोरै भए पनि जहाँ जस्तो अवस्थामा छौँ, त्यसैमा टेकेर, आफ्नो धरातल नभुली निरन्तर प्रयत्न गरे हरेक समस्याको समाधान गर्न सकिने धारणा राखेका थिए।
यसैगरी सहप्राध्यापक डा. गुरुप्रसाद सुवेदीले
उत्साह, दृढसङ्कल्प, दीर्घसूत्रताऽभाव, सकारात्मक चिन्तनको विकास गर्दै निरन्तर प्रयत्न गर्दा विशवविद्यालयमा विद्यार्थी संख्या बढ्दै जाने समाधानात्मक विचार राखेका थिए ।
उपप्रा कपिलदेव सुवेदीले विश्वविद्यालय र विद्यापीठका भवनहरू वास्तुशास्त्र विरुद्ध बनेकाले यहाँ प्रगति हुन नसकेको बताउँदै स्थानीय सरकारसँग सहकार्य गरी मावि तहमा संस्कृत पढाउन सकिने। संस्कृत माविलाई विश्वविद्यालयले सहयोग गरी त्यहाँबाट विद्यार्थी आउने ग्यारेन्टी गर्न सकिने धारणा राखे। त्यस्तै उपप्रा किशोरचन्द गौतमले समस्याका तीन स्तम्भ- म प्राध्यापक, कर्मचारी र पदाधिकारी भएकाले यी तीनै पक्षले आआफ्ना कमजोरी सुधार्दै कर्तव्य निर्वाह गर्नुपर्ने धारणा राखे।
शैक्षिक प्रशासन शाखा प्रमुख आशा शर्माले
अरूलाई दोषारोपण नगरी सबैले आफ्नो कर्तव्य निर्वाह गरे समस्याको समाधान हुने, गुरुकुललाई संरक्षण गर्नुपर्ने , सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने धारणा राखिन् । पूर्वप्राचार्य वंशीधर आचार्यला मूल समस्या नेतृत्वमा रहेको, क्वालिटीयुक्त समान राखे दोकानमा ग्राहक आएजस्तो स्तरीय शिक्षा दिने हो भने विद्यार्थी आइहाल्ने, संस्कृत विशिष्ट प्रकृतिको शिक्षा भएकोले यहाँ अन्यत्र जस्तो धेरै विद्यार्थी नचाहिने, थोरै तर राम्रो उत्पादन गरे पुग्ने धारणा राखे ।
कार्यक्रममा सांस्कृतिक अध्ययन संस्थानका कार्यकारी निर्देशक डा. जर्मन चौधरी, विश्वविद्यालय विद्यापीठका प्राचार्य उदयराज सुवेदी, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य सहप्रा डा. गणाशपाण्डेय, नेसंविप्रासंघ केन्द्रीयसमिति: महासचिव अर्जुनप्रसाद भट्टराई सहप्रा डा
काशीराज पोख्रेल, विद्यार्थी माधवा शर्मालगायतले आआफ्ना धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा उपसभापति राजेन्द्र गौतमले धन्यवाद ज्ञापन गरेका थिए भने सबैका धारणाहरूको समीक्षा गर्दै सबैले सकारात्मक भई लागिपरेमा राम्रो प्रगति हासिल गर्न सकिने र हरेक समस्याको समाधान निस्कने विचार राख्दै सभापति डा रघुनाथ नेपालले कार्यक्रम समापन गरेका थिए ।



