लुम्बिनी प्रदेशले खरिद गर्न सकेन उद्धार सामग्री

बुटवल । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुपन्देही र प्युठान पहिरो तथा तराईका जिल्ला बर्दिया, बाँके, नवलपरासी, रुपन्देही, दाङ र कपिलवस्तु बाढीको जोखिममा छन् ।

मनसुन पूर्वतयारी प्रतिकार्य योजना अनुसार लुम्बिनी प्रदेशमा यस वर्ष ७९ हजार ९ सय ७९ घर परिवार मनसुनजन्य विपदबाट प्रभावित हुने अनुमान छ । मुख्यमन्त्रीदेखि प्रदेशसभास्थल समेत रहेको बुटवल उपमहानगरपालिका गत सोमबार सामान्य वर्षमा पनि डुबानमा पर्यो ।

मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरुले यो वर्ष पनि धेरै वर्षा हुने र जोखिम पनि बढी हुने बताइरहेका छन् । मनसुनी वर्षा र विपदका घटना सुरु भइसक्दासमेत लुम्बिनी प्रदेश सरकारले सम्भावित विपदको सामना गर्ने उद्धार सामग्री नै खरिद गर्न सकेको छैन ।

विपद आइहाले पहिलो काम विपदमा परेकालाई उद्धार गर्नु हो, तर सरकारले तीन पटक टेण्डर गर्दासमेत उद्धार सामग्री खरिद गर्न सकेको छैन । प्रभावग्राही बोलपत्रदाता टेण्डर प्रकृयामा नआउँदा सरकारले टेण्डर नै रद्ध गरेको छ । जसले गर्दा सरकारसँग उद्धार सामग्रीको अभाव छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका विपद व्यवस्थापन महाशाखाका अधिकृत बाबुराम पन्थीले भने, ‘मन्त्रालयले एक करोड मूल्य बराबरका उद्धार सामग्री खरिदका लागि तीन पटकसम्म टेण्डर गर्दा पनि प्रभावग्राही बोलपत्रदाता आएनन्, त्यसैले टेण्डर नै रद्द गर्यौं ।’ उनका अनुसार विपद् उद्धार सामग्रीका रुपमा मन्त्रालयमा अहिले ३०० थान त्रिपाल, २०० थान टेन्ट र १०० थान ब्ल्याङ्केट मात्रै मौज्दात छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि उद्धार सामग्री खरिदमा एक करोड, विपद् न्यूनिकरणका लागि स्थानीय तहमा विपद प्रतिकार्य तालिमका लागि ३२ लाख, आपतकालीन अवतरण गर्न हेलिप्याड निर्माणका लागि २५ लाख, विपद् पूर्वसूचना प्रणालीका लागि १० लाख, विपद् सम्बन्धी गोष्ठीका लागि ५ लाख, कृत्रिम अभ्यासका लागि १० लाख, खोज उद्धार तालिममा २० लाख बजेट विनियोजन गरेको सूचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस