तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय आमन्त्रीत सदस्य समेत रहेका तुलसीपुर उपमहानगरपालिका—५ निवासी विमल रिजाल खासगरी व्यवसायिक दिर्घामा अत्यन्त परिचित नाम हो । व्यवसायसँगै सामाजिक रुपान्तरणमा पनि एउटा पृथक र अर्थपूर्ण भूमिकामा रहेका रिजाललाई समाज रुपान्तरणको ऐनाका रुपमा पनि लिन्छन् तुलसीपुरबासीले । उनी रिजाल अहिले नेपाली कांग्रेसको राजनीतिमा आफ्नो बाँकी जीवनलाई समर्पण गर्ने अभ्यासमा छन्, पार्टीले दिएको जिम्मेवारी र भूमिकामा ।
करिव तीन दशकभन्दा बढी सक्रिय रुपमा व्यवसायिक जीवन बिताएका रिजाल उद्योग वाणिज्य संघको खुल्ला तर्फ केन्द्रीय सदस्यको प्रत्यासी बनिरहँदा मेची महाकालीसम्म उनको परिचय स्थापित भयो । अब सक्रिय व्यवसायिक जीवनलाई साइड लगाएर बाँकी जीवन कांग्रेसको राजनीतिमा ।
कुनै पनि लोकतान्त्रिक पार्टीलाई चलायमान र गतिशील बनाउन हरेक क्षेत्रका अनुभवहरु चाहिन्छ, त्यसैले व्यवसायिक क्षेत्रको अनुभवलाई अब पार्टीको नीति निर्माण तहसम्मै लैजान हामी व्यवसायीहरु पनि नेतृत्व तहमा पुग्नु आवश्यक छ भनेर आफुले सक्रिय राजनीति सुरु गरेको रिजाल बताउँछन्, तर नेतृत्वसम्म पुर्याउने जिम्मा भने उनले आम कांग्रेसजनहरु र अग्रज नेतृत्वलाई सुम्पन्छन् ।
उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा रिजालले तुलसीपुरको प्रायः बन्द भएको टरिगाउँ विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन खेलेको भूमिकालाई यहाँ लेखिरहनु पर्दैन, किनकि मुलुक जनप्रतिनिधिविहिन भैरहँदा त्यसको भूमिका तुलसीपुर उद्योग वाणिज्य संघलेनै खेलेको थियो । उनी आफै जहाज टिकट बिक्रिको जमानी बसेपछि बल्ल निजी विमान कम्पनीले तुलसीपुरमा फेरी जहाज उडान सुरु गर्यो । तुलसीपुर उद्योग वाणिज्य संघको सभाहल निर्माणमा होस वा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा व्लड बैंक भवन निर्माण र सञ्चालनमा पनि रिजालको भूमिका अद्धितिय थियो ।
लायन्स क्लव, लियो क्लव, रोटरी क्लव लगायतका थुप्रै सामाजिक संघसंस्थाहरुमा नेतृत्वदायी भूमिका खेलेका रिजाल कांग्रेसमा मात्र नभएर हरेक तुलसीपुरबासीको मनमस्तीसमा भिजि सकेका छन् । पछिल्लो समयमा देखिएको विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण, व्यवस्थापन, बिरामीको उपचार र अलपत्र यात्रुहरुलाई भोजनको व्यवस्थापनमा समेत रिजालको समन्वयात्मक भूमिकालाई अक्षरमा उतारीरहनुपर्दैन । कोरोनाको दोस्रो झड्कामा मुलुक अक्सिजनको अभावमा कति व्याकुल भएको थियो कि, त्यसबेला तुलसीपुर क्षेत्रका बिरामीलाई अक्सिजनको जोहो गर्न पनि रिजालको भूमिका अपरिहार्य रह्यो ।
खासमा रिजाल खाद्य उद्योग तुलसीपुर फ्लोर मिल सञ्चालनबाट व्यवसायलाई उचो बनाउँदै आएका रिजाल पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा पनि परिचय बनाउन सफल छन् । तुलसीपुर क्षेत्रमा निजी क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल चाहिन्छ भन्नेकुरालाई मध्यनजर गर्दै उनी तुलसीपुर सिटि अस्पताल सञ्चालनमा ल्याउन पनि अग्रणि भूमिकामा देखिए ।
वातावरणीय प्रदूषण पनि पछिल्लो समयमा ठूलो चिन्ताको विषय बनिरहेका बेला तुलसीपुरको पहिचानलाई स्थापित गर्न उनले थालेको क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान पनि एउटा पृथक अभियान हो । जसले तुलसीपुरलाई सफा स्वस्छ र हराभरा बनाउन सपना बोकेको छ । यख्पि यो अभियान पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनको जिम्मा पाएको छ ।
उनै सामाजिक एवं व्यावसायिक अभियन्ता रिजाल अहिले कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा चयन भएर महाधिवेशन प्रतिनिधिसम्म बन्ने बाटोमा छन् । त्यसका लागि उनले निर्वाचन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी समेत घोषणा गरेका छन् । वि.सं २०४६ सालमा काठमाडौंमा पढ्दादेखिनै नेपाली कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीसँग निकट रहेका रिजाल सशांक कोइराला, मिनेन्द्र रिजाल, स्वर्गीय खुम बहादुर खड्का, शेखर कोइराला समेतको सम्पर्कमा रहन पुगेपछि नेपाली कांग्रेसको क्रियाशील राजनीतिमा पनि शुभचिन्तक र सहयोगी बन्दै आए ।
‘मेरो व्यक्तिगत इन्ट्रेष्ट पनि हो, अग्रज नेताको अनुरोध पनि भएकाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको हुं, मैले यस क्षेत्रका सबै क्षेत्रीय प्रतिनिधिहरुसँग अमुल्य मतको अपेक्षा गरेको छु’, तपाईको अमुल्य मतलाई खेर जान नदिइ कांग्रेसलाई नविनतम पार्टी बनाउन मेरो सक्रिय भूमिका रहने छ’, रिजालले आग्रह गरे ।


