दाङ । गएको भदौमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज ओलीले पत्रकार सम्मेलन गरि अध्यक्षबाट राजीनामा दिए र कार्यसमिति नै भंग भएको घोषणा गरे । त्यसपछि अन्य पदाधिकारी तथा सदस्यहरुले राजीनामाको कुनै जानकारी नआएको र कार्य समिति जिवितै रहेको भनि पत्रकार सम्मेलन गरि जानकारी दिए ।
त्यसपश्चात बन्द रहेको आर्थिक कारोबारोको जिम्मा जिल्ला प्रशासन कार्यालय दाङले समितिका कोषाध्यक्ष र लेखापाललाई दिएको छ । ‘खानेपानीका धेरै कर्मचारीले भदौ देखि तलब पाउनु भएको छैन, दशै आईसकेको छ, त्यसैले कर्मचारीलाई तलब खुवाउन तथा अन्य कारोवारकालागि मलाई र लेखापाललाई जिम्मा दिएको छ’, संस्थाका कोषाध्यक्ष सीताराम शर्माले भने ‘खानेपानीको महसुलबाट आएको रकमलाई हामीले हिसाबकिताब राख्ने गरि सीडीओले जिम्मेवारी प्रदान गर्नुभएको छ, त्यही अनुसार काम अघि बढाइरहेका छौं ।’
चेकमा हस्ताक्षर नचल्ने भएपनि‘क्यास’ कारोबार गर्न पाउने गरि सीडीओले जिम्मेवारी दिएको कोषाध्यक्ष शर्माले बताए ।
अहिले तुलसीपुर खानेपानी नेतृत्व विहीन अबस्थामा पुगेको छ । कार्यसमितिको कार्यकाल सकिएको करिब १८ महिना वितिसक्यो ।
संस्थाको विषयमा अदालत र अख्तियारसम्म पनि उजुरी परेपछि तोकिएको निर्वाचन पनि रोकिएको थियो । गएको बर्ष चैत २२ गते खानेपानीको निर्वाचन तोकिएको थियो । तर, खानेपानीका पूर्व कर्मचारी यमुना शाहले खानेपानी विरुद्ध रिट हालेपछि त्यो निर्वाचन रोक्न उच्च अदालत तुलसीपुरले आदेश दिएको थियो । त्यस्को टुंगो अझै लागेको छैन ।
नैतिकताका हिसाबले लामो समय आफू पदमा बसिरहन नसुहाउने भन्दै अध्यक्ष वलीले राजीनामा दिएपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सर्वदलिय बैठक बोलाएका थिए । त्यो बैठकले शाहले दिएको रिट निवेदन फिर्ता लिने र अहिले देखिएको समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो । तर, त्यसले अझै निकास पाउन सकेको अबस्था छैन ।


