काठमाडौं । फूलपाती नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो। आज विशेषगरी घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याउने चलन छ। फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ।
स्थान र परम्पराअनुसार शास्त्रमा नौ प्रकारका फूलपातीको उल्लेख गरिएको छ। केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोकको वृक्ष, माने–कर्कलो र धान– यी नौ पत्रिका मानिएका छन्। बिहान ७ बजेर ३७ मिनेटको शुभ साइतमा फूलपाती भित्र्याउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
परम्पराअनुसार गोरखाबाट ल्याइएको फूलपातीलाई विधिपूर्वक काठमाडौँ ल्याएर हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने गरिन्छ। यस अवसरमा नेपाली सेना, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागितामा विशेष समारोह हुने गरेको छ।
यसरी फूलपाती केवल पूजा सामग्री भित्र्याउने परम्परा मात्र नभई शक्ति, प्रकृति, समृद्धि, पारिवारिक एकता र नेपाली मौलिक संस्कृतिको प्रतीकका रूपमा स्थापित महत्त्वपूर्ण पर्व हो।
देवी कालरात्रिको पूजा
नवरात्रको सातौँ दिन देवी ‘कालरात्रि’को पूजा गरिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा र चार हात भएकी तथा उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन्। उनको कपाल झाँक्रो फिँजाएजस्तो देखिन्छ भने घाँटीमा बिजुलीसरह चम्किने माला छ। श्वास फेर्दा कहिलेकाहीँ आगोको राँको निस्केजस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो देखिन्छ, तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यी देवीको एक नाम ‘शङ्करी’ पनि हो। कालरात्रि देवीको स्मरण गर्नाले दानव, दैत्य, राक्षस र भूतप्रेत भागेर जान्छन् भनिएको छ। देवीले कालरात्रिको रूप लिएर सबै असुर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रूपमा आजलाई लिइन्छ। यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ।
माताले भक्तलाई साहस, धैर्य र आत्मविश्वास प्रदान गर्दछिन्। माता कालरात्रिको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता रहेको छ। जीवनका हरेक समस्यालाई पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्रि आफ्ना भक्तलाई हर परिस्थितिमा विजय दिलाउँछिन् भन्ने विश्वास छ। आजको दिन माता कालरात्रिलाई सख्खर चढाइन्छ। यसो गर्नाले दरिद्रता भाग्दछ। जीवनमा ठूलाठूला सङ्कट आएमा कालरात्रिको पूजा तथा आराधनाले सहजै हल गर्न सकिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। दियो, कलश तथा गणेशको पूजा गरिसकेपछि विधिपूर्वक देवी कालरात्रिको पूजा गर्नुपर्दछ।
सप्तमी पूजा
प्रतिपदामा गरिएको सङ्कल्पअनुसार फलश्रुतिको कीर्तन गरेपछि ‘अद्य सप्तम्यां नवपत्रिकामृन्मयदुर्गापूजाबलिदानानि करिष्ये’ भन्ने सङ्कल्प गरी पहिले निमन्त्रित गरिएको बेलवृक्षको फेदमा गएर दुर्गा र बेलवृक्षको पूजा गर्नुपर्दछ। त्यसपछि प्रार्थना गर्नुपर्दछः
प्रार्थना–
महिषघ्नि महामाये चामुण्डे मुण्डमालिनी।
आयुरारोग्यमैश्वर्यं देहि देवि नमोऽस्तु ते ।।
कुङ्कुमेन समालब्धे चन्दनेन विलेपिते।
बिल्वपत्रकृतापीडे दुर्गेऽहं शरणं गतः ।।
रूपं देहि यशो देहि भगं भगवति देहि मे।
पुत्रान्देहि धनं देहि सर्वान्कामांश्च देहि मे ।।
सर्वमङ्गलमाङ्गल्ये।।। इति च सम्प्रार्थ्य पत्रिकाः पूजयेत् ।
दुर्गा स्तुति
दुर्गां शिवां शान्तिकरीं ब्रह्माणीं ब्रह्मणः प्रियाम्।
सर्वलोकप्रणेत्रीं च प्रणमामि सदाशिवाम् ।।
मङ्गलां शोभनां शुद्धां निष्कलां परमां कलाम्।
विश्वेश्वरीं विश्वमातां चण्डिकां प्रणमाम्यहम् ।।
उक्त विधिद्वारा नवपत्रिकाहरूमा विभिन्न पूजा गरेपछि स्तुति गर्नुपर्दछ। दुर्गा स्तुति यसप्रकार रहेको छ– ‘म दुर्गा, शिवा, शान्तिकरी, ब्रह्मणप्रिया, सर्वलोकप्रणेत्री शिवालाई प्रणाम गर्दछु। म मङ्गला, शोभना, शुद्धा, निष्कला, परमा, कला, विश्वेश्वरी, विश्वमाता, भगवती चण्डिकालाई प्रणाम गर्दछु।
म सर्वदेवमयी अर्थात् सबै देवताका तेजबाट प्रकाशित भएकी, सबै किसिमका आधिव्याधिको नाश गर्नुहुने, ब्रह्माविष्णुशिववन्दिता अर्थात् ब्रह्मा, विष्णु र शिवबाट प्रणाम गरिएकी उमाभगवतीलाई प्रणाम गर्दछु। विन्ध्याचलमा विराजमान भएकी, विन्ध्यपर्वतमा घर बनाई स्थिर रूपमा रहनुहुने, दिव्य समाजमा निवास गर्न मन पराउनुहुने, भक्तहरूलाई संसारसागरबाट तार्नुहुने भगवती दुर्गाको नित्य वन्दना गर्दछु।’
यसरी जसले यस स्तुतिको पाठ गर्दछ वा श्रवण गर्दछ, त्यो भक्त सबै पापबाट मुक्त भई दुर्गा भगवतीको समीपमा बस्न पाई रमाउँछ भनेर शास्त्रको वचन रहेको छ।
यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधिविधानअनुसार अनुष्ठान गरेर, गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ।
कालरात्रिको मन्त्र
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।


