काठमाडौं । बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले गोरखामा दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत(सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।
यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको हो। प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ ।
प्रहरीका अनुसार धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ । जसका कारण ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ ।


