बुढीगण्डकी बाढी : उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौं । बुढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ । घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको छ ।

गृहमन्त्री सुधन गुरुङका अनुसार घटनालगत्तै उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको छ ।

उद्धार कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेको गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिए । गृहमन्त्री गुरुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

उनले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन अनुरोध गर्दै आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस