दाङ । दसैँ नजिकिएसँगै दाङका गाउँबस्तीमा चाडपर्वको रौनक छाउन थालेको छ । घरआँगनको लिपपोत, सरसफाइ, दसैँका लागि आवश्यक खाद्यान्न तथा सामग्री जुटाउने, थारू समुदायको सख्या पैयाँ नाचको तयारी तथा रोजगारीका लागि विदेश गएकाहरू गाउँ फर्किन थालेपछि गाउँघरमा दसैँको चहलपहल बढेको हो ।
थारू बस्तीमा भने दसैँको तयारीसँगै सख्या पैयाँ नाचले गाउँको वातावरण थप उल्लासमय बनाएको छ । कतिपय गाउँमा नाच सुरु भइसकेको छ भने कतिपय ठाउँमा नाचका लागि आवश्यक चोल्या, ब्याज, गोन्या र फर्या सिलाउने तथा मादल तयार गर्ने काम भइरहेको छ । साँझपख मादलको तालसँगै नाचगान सुरु हुन थालेपछि गाउँबस्तीमा दशैँ आएको अनुभूति हुन थालेको छ ।
दङ्गीशरण गाउँपालिका हेकुल गाउँकी सउनी चौधरी भने दसैँको तयारीसँगै सख्या पैयाँ नाचका लागि आवश्यक सामग्री जुटाउन व्यस्त छिन् । उनले पात–दाउरा ल्याउने, तेल पेलाउने र पिठो पिसाउनेसँगै नाचका लागि पहिरन सिलाउने र मादल सजाउने काम भइरहेको बताइन् ।
घोराही भैसाही गाउँका बोधराज चौधरीको घरमा पनि केही दिनयता दसैँको तयारी भइरहेको छ । उनले भने, “दसैँ आउन धेरै दिन छैन । त्यसैले अहिलेबाटै घर लिपपोत र सरसफाइमा लागेका छौँ ।” कच्ची घरमा माटोले लिपपोत गर्ने र पक्की घरमा रङरोगन गर्ने गरिन्छ । उनका अनुसार घर सरसफाइसँगै दसैँका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री जुटाउने काम पनि सुरु भएको छ । गाउँघरमा अहिले दसैँका लागि सुङ्गुर, बङ्गुर तथा खसीबोका खोज्ने, तेल पेलाउने, पिठो पिसाउने र घरायसी प्रयोजनका सामग्रीको जोहो गर्ने काममा स्थानीय व्यस्त छन् ।
दसैँको चहलपहलसँगै रोजगारीका लागि विदेश गएका पनि गाउँघर फर्किन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–१४, ड्वाङपुर गाउँका फुलाराम चौधरी दसैँ मनाउन दुबईबाट घर फर्किएका छन् । करिब १० वर्षदेखि दुबईमा रोजगारी गर्दै आउनुभएका उनी यस पटक बिदा मिलाएर दसैँ मनाउन घर आएका हुन् । उनले भने, “पहिला माघीमा घर आउँथे । यस पटक दसैँ मनाउन आएँ ।”
त्यसै गरी घोराही उपमहानगरपालिका–१७, गुलरियाकी सावित्रा चौधरी दसैँ मनाउन जापानबाट घर फर्किएका छन् । उनले दसैँ मनाएर पुनः जापान फर्किने बताए । दसैँका लागि घरआँगन चिटिक्क पार्ने, खाद्यान्न तथा आवश्यक सामग्री जुटाउने, परम्परागत नाचगानको तयारी गर्ने र परदेशबाट आफन्त घर फर्किने क्रमसँगै दाङका गाउँबस्तीमा चाडपर्वको वातावरण बनेको छ । गाउँमा बज्न थालेको मादलको ताल, घर घरमा भइरहेको सरसफाइ र परदेशबाट फर्किरहेका आफन्तले दसैँको आगमनको आभास गराउन थालेको छ । गोरखापत्रबाट


