काठमाडौं । पृथ्वी राजमार्ग लगायत अवरुद्ध प्रमुख राजमार्गका सडक खुलाएर आज दिउँसोसम्म गाडी सञ्चालन गर्ने तयारी छ । बुधबारदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत देशभरका सडक अवरुद्ध छन् ।
आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुलाएर पोखरातर्फ जाने सवारी साधन सञ्चालन गरिएको थियो । मुग्लिन–काठमाडौं सडकखण्डमा पनि धेरै ठाउँमा पहिरो पन्छाइएको थियो । तर कुनै–कुनै ठाउँमा भने सडक एकतर्फी छ ।
आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारा भन्ने स्थानमा ठूलो ढुंगासहित फेरी पहिरो खसेकाले दुईतर्फी नै बाटो अवरुद्ध भएको छ । सो पहिरो पनि पन्छाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग खुलाउने तयारी गरिएको धादिङ प्रहरीले जनाएको छ ।
सो स्थानको पहिरो राति हटाउन सम्भव नभएकाले आज बिहानैदेखि पुनस् हटाउन सुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
‘पानीधाराको पहिरो पन्छाएपछि काठमाडौं जाने सडक पुरै खुल्छ,’ उनले भने । सडक खुले पनि कृष्णभिर क्षेत्रको सडकको अवस्था हेरेर गाडी सन्चालन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगैको बाढीपहिरोले कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर अन्तर्गतको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेका छन् ।


