पश्चिम नवलपरासी । नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ताको थारु टोल गाउँका करिब ७८ घरपरिवार विस्थापनको उच्च जोखिममा परेका छन् । नदीको जलस्तर तीव्र रूपमा बढेर बस्तीमा पानी पसेपछि ती घरपरिवारलाई सुस्ताकै बडका टोल, पहाडी टोल र सैनिक टोल लगायतका सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको छ ।
नदीले बस्तीभन्दा जम्मा ४० देखि ५० मिटरको दुरीमा तीव्र रूपमा कटान गरिरहेकाले थारु टोल उच्च जोखिममा परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए ।
रातको समयमा सो स्थानमा बस्न असुरक्षित हुने भएकाले जोखिममा परेका ७८ घरपरिवारलाई पूर्ण रूपमा सुरक्षित स्थानतर्फ सारिने कार्य भइरहेको प्रवक्ता जयसवालले बताए ।
यसैबिच, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले थारु टोलका नागरिकहरूलाई जोखिमबाट बच्नका लागि सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको जानकारी दिए । सुरक्षा निकायको सहयोगमा प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी रहेको उनले बताए ।
वर्षाको सम्भावनासँगै पश्चिम नवलपरासीमा बाढी, पहिरो, डुबान तथा कटानजस्ता सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सतर्कता उच्च पारिएको छ । क्षति न्यूनीकरण तथा तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला संस्थाहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ।


