कपिलवस्तु । कपिलवस्तुको बाणगंगा जलाधार क्षेत्रका विभिन्न नौ स्थानमा जल सतह तथा मौसम मापन केन्द्र स्थापना गरिएको छ । मौसम तथा जलसम्बन्धी तथ्यांक नियमित रूपमा संकलन गरी विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी केन्द्रहरू स्थापना गरिएको हो ।
स्थापित चार वटा मौसम मापन केन्द्रमध्ये शिवराज नगरपालिकाको मैनार, अर्घाखाँचीको सिमलपानी, बुद्धभूमि नगरपालिकाको रनगाई र यशोधरा गाउँपालिकाको बैदौलीमा केन्द्र स्थापना गरिएको छ । यी केन्द्रबाट तापक्रम, वर्षा, हावाको गति लगायत विभिन्न मौसमसम्बन्धी तथ्यांक मापन तथा संकलन गरिनेछ ।
त्यस्तै, पाँच स्थानमा जल सतह मापन केन्द्र स्थापना गरिएको छ । पावरब्रिज, गुडुङ खोला, बेलनदी पुल, रामघाट पुल र बर्गदाघाट–वाणगंगा पुलमा जल सतह मापन केन्द्र जडान गरिएको हो ।
यी केन्द्रबाट नदी तथा खोलाको जल सतह नियमित रूपमा मापन गरी सम्भावित बाढीको जोखिमबारे समयमै सूचना प्रवाह गर्न सहयोग पुग्नेछ । केन्द्रहरू सञ्चालनमा आएसँगै विशेषगरी वर्षायाममा हुने बाढी तथा डुबानबाट हुने जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, बेमौसमी वर्षा, असिना, चट्याङ तथा हावाहुरीका कारण कृषि बाली, पशुचौपाया तथा मानव जीवनमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि समेत केन्द्रबाट प्राप्त मौसम तथा जलसम्बन्धी तथ्यांक उपयोगी हुने बताइएको छ ।
करिब ३५ लाख रुपैयाँको लागतमा तयार गरिएका केन्द्रहरूको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिएका छन् । स्थानीय तहलाई हस्तान्तरण कार्यक्रममा मौसमविद् हिरा भट्टराईले जल तथा मौसम मापन केन्द्रबाट तथ्यांक संकलन, सूचना प्रवाह तथा पूर्वसूचना प्रणालीमार्फत विपद् जोखिम न्यूनीकरण गर्न सकिने उपायबारे जानकारी गराएका थिए ।


