दाङ । शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट तीज मनाउन माइतीघर जान लागेकी एक महिलाको मोटरसाइकलको चक्कामा दुपट्टा बेरिएर लतारिँदा मृत्यु भएको छ। शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका–३ मा दुर्घटना हुँदा ३५ वर्षीया जीता केसीको मृत्यु भएको हो।
सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार केसी रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। उनले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि चक्काले तानेर उनलाई मोटरसाइकलबाट सडकमा खसालेको थियो। त्यसपछि तीव्र गतिमा रहेको मोटरसाइकलले उनलाई केहीबेर सडकमा लतारेको थियो।
घटना शनिबार दिउँसो पौने १ बजेतिर त्रिवेणी–३ टाट्केस्थित भित्री कच्ची सडकखण्डमा भएको प्रहरीले जनाएको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लुहामका प्रहरी नायव निरीक्षक मानबहादुर घर्तीका अनुसार सडक केही ओरालो थियो। मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला दुपट्टा चक्कामा बेरिएको चालकले तत्काल थाहा पाएनन्। दुपट्टा चक्कामा अल्झिएपछि त्यसको गतिको भारले केसीलाई मोटरसाइकलबाट तानेर सडकमा खसालेको थियो।
मोटरसाइकल चलाउँदै गर्दा केही अप्ठ्यारो महसुस भए पनि चालकले तत्काल मोटरसाइकल रोकेनन्। केहीबेरपछि मोटरसाइकल रोकेर हेर्दा केसी सडकमा लतारिइसकेकी थिइन्। उनको घाँटीमा कसिएको दुपट्टा तत्काल काटिए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको थियो।
‘घटनास्थलको अवस्था हेर्दा दुपट्टा चक्कामा अल्झिएपछि त्यसको गतिको भारले महिला मोटरसाइकलबाट पल्टिएको देखिन्छ। महिला पल्टिँदासम्म चालकले थाहा नपाएको देखियो,’ प्रहरी नायव निरीक्षक घर्तीले बताए।
घर्तीका अनुसार मृतककी भदै कृष्ण केसीले मोटरसाइकल चलाएको थिए। कृष्णले दाङस्थित घरबाट फुपू जीता केसीलाई लिएर तीजका लागि माइतीघर जाँदै गर्दा बाटोमा दुर्घटना भएको हो।
‘तीजका लागि दाङस्थित घरमा गई फुपू जीतालाई माइतीघर लैजान लागेको भन्ने खुलेको छ,’ घर्तीले भने, ‘आवश्यक सावधानी अपनाउन नसक्दा कपडा बेरिएपछि बीच बाटोमै नसोचेको दुःखद दुर्घटना हुन पुगेको देखियो।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


