अट्वारीमा अग्रासन होइन, बेपत्ता भाइ–बुहारीको पर्खाइ सीमा चौधरी

तुलसीपुर । माइतीबाट दाइभाइले अट्वारीको अग्रासन ल्याएर आउँदा थारू समुदायका चेलीबेटीको मनमा छुट्टै खुसी छाउँछ । दाइभाइ पनि आफ्ना चेलीबेटीलाई अग्रासन दिन पाउँदा उत्तिकै खुसी हुन्छन् ।

तुलसीपुर उपमहानगरपालिकाको हरिपौरीकी रीता चौधरीको आँखा भाइको बाटोतिर छ । यस वर्ष यो पर्वको बेला सीताको त्यो खुसी हराएको छ । थारू समुदायले यही भदौ २८ गते अट्वारी मनाउँदै छन् । अट्वारीमा घर आउने कुरा गरेका भाइ बजारु चौधरी र उनकी श्रीमती सीमा चौधरी भोटेकोशी बाढीपछि १७ दिनदेखि सम्पर्कविहीन छन् । भाइबुहारीको बाटो हेर्दै बसेकी सीतालाई यस पटक अट्वारीको अग्रासनभन्दा उनीहरू सकुशल फर्किएर आउने प्रतीक्षा छ ।

भदौ १० गते आएको भोटेकोशी बाढीले बस बगाएपछि बजारु–सीमा दम्पती सम्पर्कविहीन भएका हुन् । बाढी आएको दिन घुम्न जाने क्रममा उनीहरू बसमा चढेका थिए । केही समयमै आएको बाढीले बस बगाएपछि दम्पतीसहित बसमा सवार यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ ।

बजारु चौधरी १२ वर्षदेखि रसुवास्थित भन्सार कार्यालयमा कार्यरत थिए । चीनबाट आउने सामान जाँच गर्ने जिम्मेवारीमा रहेका उनी बिदाको समय पारेर श्रीमतीसँग घुम्न निस्केका थिए । बजारुका भान्जा तिलक चौधरीले भने, “हामी मामाहरूसँग एउटै घरमा बस्थ्यौँ, मामा र फुपू घुम्न जाने भनेर बसमा जानुभयो । हामी दुई भाइ मोटरसाइकलमा थियौँ, बाढी आएपछि हामीले मोटरसाइकल छोडेर ज्यान बचाउन सफल भयौँ तर मामामाइजू चढेको बस बाढीले बगायो ।” बजारु र सीमाको अवस्था पत्ता लगाउन आफन्तले नुवाकोट, धादिङ, काठमाडौँदेखि चितवनसम्म पुगेर अस्पताल तथा सम्भावित स्थानमा खोजी गरिसकेका छन् । आफन्तको अवस्था अज्ञात भएपछि परिवारले डिएनए परीक्षणका लागि नमुना दिएका छन् । चौधरीले भने, “मामाहरूको यहाँ आफ्ना भन्ने कोही छैनन्, हामी नै हौँ, उहाँहरूका दुई छोराछोरी छन् । छोरा कोरियामा र छोरी डेनमार्कमा हुनुहुन्छ ।”

चौधरीले बजारु–सीमा दम्पती बेपत्ता भएपछि घरपरिवारमा मात्रै होइन, गाउँमै पर्वको रौनक हराएको बताए । भोटेकोशीको बाढीमा परेर दाङका ५४ जना सम्पर्कविहीन छन् । लामो समयसम्म आफन्तको अत्तोपत्तो नभएपछि बेपत्ता व्यक्तिका आफन्तबाट डिएनए नमुना सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. होमबहादुर केसीका अनुसार हालसम्म दाङबाट सम्पर्कविहीन ५४ जनामध्ये ३७ जनाको डिएनए नमुना सङ्कलन गरिएको छ । गोरखापत्रबाट

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस