आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर साधारण बादल लागेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका केही स्थान बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ।

महाशाखाद्वारा मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

देशको पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस