त्रिशुली थ्री – ‘ए’ को सुरुङमा उद्धार विज्ञ पठाइँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ ।

तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको उनले जानकारी दिए । सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भएको उनले बताए ।

‘यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ र भित्र फसेकाहरूको उद्धार गर्न पनि मिल्छ,’ उनले भने, ‘अक्सिजन छिराउने प्वाल हिजै पारेकाले फसेकाहरू सकुशल हुने आशा छ । चाँडै उद्धारको प्रयास भइरहेको छ ।’ यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारको काम बाढी गएको दुई दिनपछि शुक्रबारमात्रै थालिएको थियो ।
आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहको ओभरहलिङमा त्यहाँ करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान विद्युत् प्राधिकरणको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस