पैगम्बर मोहम्मदको जन्म जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ ।

पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा पुगे । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी सम्वत् १४४८ चलिरहेको छ ।

जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ ।

कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।

इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज ¥याली, सभालगायत कार्यक्रम गरिदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

सरकारले मोहम्मद जयन्तीको अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गरेर मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस