शंखमुलको होस्टलमा घोराही–१७ का युवकको हत्या, एक जना पक्राउ

दाङ । काठमाडौंको शंखमुलस्थित होस्टलमा एक युवकको हत्या भएको छ। काठमाडौंको महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको हो।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या भएको हो। उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार रहेका प्रमित पटेलको खोजी गरिरहेको छ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस