काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार गाडी दुर्घटनामा परेको छ। मंगलबार बिहान अन्दाजी ८ बजेतिर मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए।
उनका अनुसार प्रदेश ३ ००२ झ ५१८३ नम्बरको गाडी काठमाडौंबाट हेटौंडा हुँदै वीरगन्जतर्फ जाँदै थियो। गाडीमा न्यायाधीशसहित ६ जना सवार थिए। चालकसहित चार जना पुरूष र दुई जना महिला सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी एक जना महिलाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम रहेको डिएसपी काफ्लेले जानकारी दिए। ‘वीरगन्ज इजलासका न्यायाधीश श्रीमान र परिवार सवार गाडी दुर्घटनामा परेको हो,’ उनले भने। दाङ तुलसीपुर उपमहानगर–९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते हुनेमा रजिस्ट्रार बैतडीका तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र छोरी रिता बडु सवार थिए। चालक दाङका छुनिलाल चौधरी पनि घाइते छन्। लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
न्यायाधीश गोकर्ण डाँगी सहित ४ जना घाइतेको स्थानीय उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।


