दाङमा खाना पकाउने ग्यासका लागि लाइन बस्न नपर्ने

दाङ । दाङमा खाना पकाउने एलपी ग्यासको अभावका कारण घण्टौँसम्म लाइनमा बस्नु नपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको सर्वपक्षीय छलफलले ग्यास खरिदका लागि उपभोक्ताले अब लाइन बस्न नपर्ने व्यवस्था गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको अध्यक्षतामा भएको छलफलले जिल्लाका ग्यास उपभोक्तालाई आफूलाई पायक पर्ने नजिकको विक्रेता कहाँ नाम दर्ता गरी ग्यास खरिदका लागि कुपन लिन आग्रह गरेको छ।

बजारमा लामो लाइन देखिनुका साथै सुरक्षाका दृष्टिले जोखिम बढेकाले ग्यास वितरणको जिम्मेवारी विक्रेतालाई नै दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। उनका अनुसार अब विक्रेताले ग्राहकको नाम, ठेगाना र फोन नम्बरलगायतका विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्नुपर्नेछ।

घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले उपभोक्ताको विवरण पारदर्शी रूपमा राख्ने व्यवस्थाले एउटै व्यक्तिले पटक–पटक ग्यास लिने, पहुँचका आधारमा वितरण हुने तथा वास्तविक उपभोक्ता वञ्चित हुने समस्या नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।

उनले भने, “अब ग्यास लिनका लागि उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। नजिकको विक्रेतासँग नाम दर्ता गरी कुपन लिने र पालोअनुसार ग्यास पाउने व्यवस्था लागू गरिन्छ।”

बैठकले ग्यास बिक्री लाइनबाट नगर्ने भएकाले उपभोक्तालाई कुनै पनि स्थानमा गएर लाइन नबस्न आग्रह गरेको छ। वितरण प्रणालीलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय तह, सुरक्षा निकाय, ग्यास विक्रेता, उद्योगी–व्यवसायी, सञ्चार क्षेत्र तथा नागरिक अभियानका प्रतिनिधिको सहभागितामा नियमित अनुगमन र निगरानी गर्ने निर्णय गरिएको छ।

ग्यास अभावका कारण उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न प्रशासनले समन्वयकारी भूमिका निर्वाह गर्ने जनाएको छ। स्थानीय तहका प्रतिनिधिले वास्तविक उपभोक्ताको पहिचान गरी वितरण प्रणाली व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ग्यास विक्रेताले पनि उपलब्ध ग्यास पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न तयार रहेको बताएका छन्।

यसअघि ग्यास वितरणमा देखिएको अव्यवस्था, लामो लाइन तथा वास्तविक उपभोक्ताले ग्यास नपाउने समस्या समाधान गर्न घोराही बनाऔँ अभियानले पहल गरेको थियो। अभियानका संयोजक प्रियासनको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै उपभोक्ता पहिचानका आधारमा व्यवस्थित वितरण प्रणाली लागू गर्न माग गरेको थियो।

त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङले पनि ग्यासको सहज आपूर्ति तथा वितरण व्यवस्था मिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो। जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले ग्यास अभावका कारण उपभोक्ताले भोग्दै आएको समस्या तत्काल समाधान गर्न प्रशासनको ध्यानाकर्षण गराएको थियो।

सर्वपक्षीय छलफलमा स्थानीय तहका प्रतिनिधि, ग्यास विक्रेता, नेपाल पत्रकार महासङ्घ, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, घोराही बनाऔँ अभियानलगायत विभिन्न सङ्घसंस्था तथा सरोकारवाला पक्षका प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकले ग्यास वितरणसम्बन्धी नयाँ व्यवस्थाबारे आम उपभोक्तालाई जानकारी गराउन सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णयसमेत गरेको छ। प्रशासनले नयाँ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नियमित अनुगमन गरिने जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस