पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो ।

सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश दिएको छ।

जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्बिरका सम्बन्धमा वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा श्रेष्ठलाई २०८३ साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो। जाहेरवालाले आफ्नो फेसबुकमा सार्वजनिक गरेको तस्बिर समाचारमा प्रयोग गरेको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । किशोर श्रेष्ठलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएकोले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका नाममा परमादेश जारी गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस