आज नाग पञ्चमी, यस पर्वको विधि र महत्त्व के छ ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको छ ।

आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ । साथै, यसरी नागको पूजा गर्दा अग्नि, मेघ र चट्याङको डरबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ ।

शास्त्र अनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागहरूको पूजा गर्ने विधान छ । नाग पञ्चमीका दिन ‘नाग स्तोत्र’ पाठ गर्दै नागको तस्बिर टाँस्ने गरिन्छ ।

अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः नागहरु जस्तैः अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको पूजा गरि तलको नाग स्तोत्र पाठ गर्दै घरको ढोकामा नाग टास्नुपर्दछ ।

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।१।।
मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डले ।।२।।
अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।।३।।
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।४।।
अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी।
एह्येहि मनसा देवि १ नागमातर्नमोक्स्तुते ।।५।।

ज्योतिष शास्त्रीय मान्यता अनुसार नागको शिर महिना अनुसार फरक दिशामा हुने गर्दछ । यस वर्ष नाग पञ्चमी भदौ महिनामा परेकाले नागको शिर पूर्व दिशामा रहेको सम्झी पूजा गर्नुपर्ने उल्लेख छ । आज नाग टाँस्नका लागि बिहान ५ बजेर ३५ मिनेटसम्म ‘अमृत बेला’ र बिहान ७ बजेर १४ मिनेटदेखि ८ बजेर ५० मिनेटसम्म ‘शुभ बेला’ रहेकाले सो समयलाई उत्तम मानिएको छ ।

आजको दिनलाई ज्योतिष शास्त्रमा विशेष मानिन्छ । कुण्डलीमा राहु र केतुका कारण हुने ‘कालसर्प योग’ बाट मुक्ति पाउन आजको दिन नागको विशेष पूजा गर्ने गरिन्छ । साथै, नयाँ घर निर्माण गर्दा हुने नाग दोषबाट मुक्त हुन पनि आजैको दिन भूमिमा नाग देवताको विधिपूर्वक पूजा गर्ने गरिन्छ ।

धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रूपमा पनि नागको महत्त्व रहेको छ । प्रकृतिमा रहेका विषालु पदार्थहरूलाई नाग वा सर्पले शोषण गरी मानिस तथा पशुपक्षीलाई त्यसको प्रभावबाट जोगाउने हुनाले ऋषि मुनिहरूले नाग पूजाको परम्परा चलाएको मानिन्छ । आजको दिन भक्तजनहरूले दिनभर व्रत बसी सूर्यास्तपछि नाग देवताको मूर्तिमा फूल, प्रसाद, फलफूल र दूध चढाएर पूजा गरी प्रसाद ग्रहण गर्ने गर्दछन् । आजकै दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको समेत मानिन्छ ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस