राति सात प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । आइतबार राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

आइतबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा र एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

मङ्गलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस