दाङका दिपक काफ्ले ४० वर्षमुनिका ४० युवाको सूचीमा

काठमाडौं । ४० वर्षमुनिका ४० युवाको सूचीमा दाङका दिपक काफ्ले पनि परेका छन् । २०७७ फागुनबाट तुलसीपुरमा ‘रानी केक‘ शुरु गरेका काफ्ले डेढ वर्षमै घोराहीमा शाखा विस्तार गरे। त्यसपछि बुटवल, नेपालगन्ज र सुर्खेतमा शाखा विस्तार गर्न सफल भएका छन्।

काफ्लेका अनुसार, हालसम्म ५ लाखभन्दा बढी ग्राहक रानी केकसँग जोडिएका छन्। वार्षिक ३ करोडभन्दा बढीको कारोबार गर्ने यस कम्पनीले ६० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। उनीहरू चाँडै चितवनमा पनि शाखा खोल्ने तयारीमा छन्। र, उनी यसलाई पूर्वी नेपालका शहरहरूमा विस्तार गर्ने योजनामा छन्।

बाल्यकालदेखि नै व्यवसाय गर्ने लक्ष्य लिएका काफ्ले २०६८ सालदेखि चिया नास्ता पसल, होलसेल पसल, राजा मम व्यवसायमा असफलता पाएपछि अभाव र असफलताबाट गुज्रिएका उनी आज उदाहरणीय सफलता प्राप्त गरिसकेका छन्। उनको यात्रा यतिमै रोकिएको छैन, उनी भन्छन्- ‘म अझै बाटोमै छु, यात्रा जारी छ।‘

अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक हो । ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ४० युवालाई अवार्ड प्रदान गरे ।

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो । यो तेस्रो संस्करण हो ।

४० मुनिका ४० को सूची आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने प्रयास भएको अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले बताए ।

४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो । अनलाइन आवेदन र सिफारिश मार्फत प्राप्त करिब साढे १५ सय नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समिति समक्ष पेश गरिएको थियो । उनीहरूको छनोट तथा सिफारिसमा आधारित भएर ४० प्रभावशाली युवाहरूको सूची तय गरिएको हो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ, अनुसन्धाता डा. अमृता शर्मा र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनोट समितिले ४० जनाको सूचीलाई अन्तिम रूप दिएको हो ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस