काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ ।
शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो ।
अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । आन्तरिक राजश्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो ।
१० लाख रुपैयाँ विजेताको कुपन नम्बर
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो । यसको पहिलो घोषणा आज गरिएको हो । हरेक १५ दिन १५ जनालाई १/१ लाख र एक जनालाई बम्पर पुरस्कार १० लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।
त्यसका लागि prize.ird.gov.np नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने सक्कली बिल लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्छन् ।
क्यूआर मार्फत गरिने कारोबारमा भने प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले बिल इन्ट्री गर्नुनपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि योग्य हुने छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार मन्त्रालयले असार अन्तिम साता उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो ।


