यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज ९असार २६० आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

“आज इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ,” महाशाखाले भनेको छ ।

यस दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, राप्ती, बबईलगायत देशका अधिकांश ठूला नदीको बहाव पनि उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

शुक्रबार देशैभरि पानी पर्ने पूर्वानुमान छ । केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोेरै स्थानमा, मधेससहित कोसी, वाग्मती, गण्डकी प्रदेशको तराई भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस