सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले आफ्नो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ नरहेको बताएका छन् ।
मंगलबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफू आफ्नो क्षमता र योग्यताले न्यायाधीश बनेको उल्लेख गरे ।
खासगरी नेपोबेबीको प्रश्न उठेपछि उनलाई यसलाई केवल आफ्ना विषयमा बनाइएका धारणा मात्र रहेको टिप्पणी गरे । धारणा बनाउन जो कोही स्वतन्त्र रहेको समेत न्यायाधीश शर्माको भनाइ छ ।
उनले कसैसँग कुनै पारिवारिक नाता जोडिएकै कारण कुनै पदमा नियुक्ति पाउनै हुन्न, मिल्दैन, हुँदैन भन्ने कानूनी व्यवस्था वा न्यायिक मान्यता नरहेको बताए ।
‘म त आफ्नो योग्यता, क्षमताले एउटा अवधि पूरा गरेर तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा (अस्थायी न्यायाधीश) नियुक्ति पाएको थिएँ । त्यहाँ आफ्नो कार्यसम्पादन गरेर पुन: कानून व्यवसायीमा फर्केर पुन: नियुक्ति (न्यायाधीशमा नियुक्ति) पाएर आएको हो’, शर्माले भने, ‘त्यो सबै जनाले धारणा बनाउने कुरा हो (नेपोबेबी) जस्तो लाग्छ । जो कोहीले पनि आफ्नो धारणा बनाउन सक्नुहुन्छ । तर मेरो योग्यता, क्षमता वा अरु कुनैमा प्रश्न उठ्ने ठाउँ छैन ।’
सुनुवाइका क्रममा रास्वपा सांसद राजीव खत्री र नेकपा सांसद वर्षमान पुनले नेपोबेबीको प्रश्न उठेको भनेर उनलाई सोधेका थिए । शर्मालाई सर्वोच्चका पूर्वप्रधानन्यायाधीश दामोदर प्रसाद शर्मासँग जोडेर नेपोबेबीको प्रसंगमा जोड्ने गरिएको छ । उनी पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् ।



