काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे तीन दशकपछि ठूलो संरचनात्मक सुधारको कदम अघि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा अघि बढाइएको यो प्रस्ताव अब मन्त्रिपरिषद्बाट अन्तिम निर्णय हुने चरणमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ । प्रस्ताव पारित भएमा नेपालको स्वास्थ्य प्रशासनिक इतिहासमा ३४ वर्षपछि पहिलोपटक यति ठूलो संख्यामा स्थायी दरबन्दी थपिनेछ ।
मन्त्रालयका अनुसार नेपालको स्वास्थ्य संरचना तथा दरबन्दी अन्तिमपटक विसं। २०४८ मा निर्धारण गरिएको थियो । ०४८ मा नेपालको जनसंख्या करिब एक करोड ८० लाख रहेकोमा अहिले बढेर तीन करोड पुगेको छ । तर, स्वास्थ्य सेवाको स्थायी जनशक्ति संरचना भने पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव रहँदै आएको छ ।
नयाँ दरबन्दी सिर्जनासँगै संघीय अस्पताल, प्रदेशस्तरीय स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा चिकित्सक, नर्स, प्राविधिक र अन्य स्वास्थ्यकर्मीको अभाव कम हुने अपेक्षा छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि लामो समयदेखि जनसंख्या वृद्धि, रोगको बदलिँदो स्वरूप तथा स्वास्थ्य सेवाप्रतिको बढ्दो मागअनुसार नयाँ स्थायी संरचना आवश्यक रहेको बताउँदै आएका थिए ।
मन्त्रालयका अनुसार क्याबिनेटबाट अन्तिम स्वीकृति प्राप्त भएपछि पदपूर्ति प्रक्रिया अघि बढाइनेछ । यसलाई नेपालको स्वास्थ्य क्षेत्रमा दशकौँपछिको सबैभन्दा ठूलो संरचनात्मक सुधारका रूपमा हेरिएको छ ।


