मतदानका लागि धेरै समय कुर्न नपर्ने गरी प्रविधिमैत्री बनाइएको छ : भण्डारी

काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको बताएका छन्।

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको मौन अवधि र मिडिया विषयक अन्तरक्रियामा भण्डारीले मतदान सामग्री, जनशक्ति लगायतका निर्वाचनका लागि आवश्यक सबै व्यवस्था सम्पन्न भइसकेको बताएका हुन्।

फागुन २१ गते हुने निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६९९ मतदातालाई २३ हजार १ सय १२ मतदान केन्द्रमा गएर मत दिने अधिकार सुरक्षित गरिएको उनले बताए। भण्डारीले मतदानका लागि धेरै समय कुर्न नपर्ने गरी प्रविधिमैत्री बनाइएको जानकारी दिए।

उनले आचारसंहिताको सबैले पालना गरेर निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको धारणा राखे। निर्वाचनका लागि फागुन १८ गते मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले यसको पूर्णपालना गर्न सञ्चारजगतलाई उनले आग्रह गरे।

मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशित गर्न नहुने भन्दै उनले बरु मतदाता शिक्षा, निर्वाचन प्रक्रिया लगायतका विषयमा कलम चलाउन सुझाव दिए। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोग गम्भीर भएर लागेको भन्दै झुटा सामग्री प्रचार गर्नेबिरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस