पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार अपनाएँ– शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रस्ट निकास दिने बताए ।

छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रस्ट्याउँदै भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो ।’

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा. डिला संग्रौला)जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिँडिराछौ । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।’

जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज,सुखद बनाउनेतर्फ केन्द्रित रहेर काम गरेको उनको भनाइ छ ।

छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको प्रस्ट्याए । पार्टी फुटाएर हिँड्नु भन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको उनको भनाइ छ ।

पार्टीलाई नफुटाइ निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरूको भएको हुँदा त्यस अनुरूप आफूले बीचको बाटो समातेको उनले बताए ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस